ad ad

समाज


यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने, यसरी हुनेछ पठनपाठन

यो वर्ष विद्यालय र क्याम्पस नखुल्ने, यसरी हुनेछ पठनपाठन

सागर न्यौपाने
भदौ १९, २०७७ शुक्रबार १२:४९,

कोरोना संकटका कारण यो शैक्षिक सत्रमा विद्यालय र विश्वविद्यालय नखुल्ने भएको छ।

कोरोना संक्रमण झन् बढ्न थालेपछि सरकारले विद्यालय नखोल्ने निर्णय गर्दै वैकल्पिक विधिबाटै भइरहेको पठनपाठनलाई निरन्तरता दिने भएको हो।

कोरोना संक्रमण रोक्न चैत ५ गतेदेखि देशभरीका शैक्षिक संस्था बन्द गरिएका छन्। जसकारण करिब ९० लाख विद्यार्थीहरुले विद्यालय गएर नियमित पठनपाठन गर्न पाएका छैनन्।

वैकल्पिक कक्षालाई शैक्षिक सत्रमा गणना गर्ने शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालखबरलाई जानकारी दिए।

वैकल्पिक विधिमा घरमै सिकाइ, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्चुअल (अनलाइन )कक्षा गरी चार वटै विधिमा पठनपाठन गरिनेछ।

विश्वविद्यालयमा समेत सोही विधिमा पठनपाठन हुने मन्त्री पोखरेलले बताए।

‘विद्यार्थी शिक्षणसंस्थामा जान सक्ने अवस्था छैन, शिक्षक विद्यार्थीसम्म पुग्नुपर्छ, त्यसका लागि घरमै सिकाइ, रेडियो, टेलिभिजन शिक्षण र अनलाइनबाट पठनपाठन गराउँदा बढी प्रभावकारी देखिन्छ,’ मन्त्री पोखरेलले भने, ‘त्यही भएर वैकल्पिक माध्यमबाट पठन पाठन गराएका हौं।’

वैकल्पिक रुपमा गरिने पठनपाठनमा पाठ्यभार समेत घटाइएको छ। शुक्रबार मन्त्रिपरिषदबाट सहमति लिएपछि कार्यान्वयन प्रक्रिया अघि बढेको मन्त्री पोखरेलले बताए।

‘संक्रमणको यो स्थितिमा वैकल्पिक शिक्षालाई मूल धार बनाएर जान मन्त्रिपरिषद्बाट सहमित लिएको छु,’ उनले भने, ‘यो शिक्षा क्षेत्रका लागि एउटा घुम्ती नै हो।’

‘शैक्षिक सत्रको पाँच महिना सकिएको छ, अब पाठ्यक्रमलाई अघि बढाउन सकिदैँन त्यही भएर विद्यालय शिक्षाको पाठ्यक्रम घट्छ।’ मन्त्री पोखरेलले भने, ‘अत्यावश्यक विषयवस्तु समेट्ने गरी पाठ्यक्रम तयार भएको छ यो महिनाभरमा विद्यालयहरुलाई उपलब्ध गराउने छौं।’

सरकारले असार १ गते वैकल्पिक सिकाइ अभियान सुरु गरेको थियो। तर, सबै विद्यालयले यसलाई लागू गराउन सकेका छैनन्।

वैकल्पिक कक्षालाई प्रभावकारी बनाउन शिक्षण संस्थाले आफ्ना विद्यार्थीको खोजी गर्नुपर्नेछ।

उनका अनुसार वैकल्पिक पठन विधि विद्यालयदेखि विश्वविद्यालयसम्म लागू हुनेछ।

‘हामीले पहिलेदेखि तयारी गरिरहेका थियौं, विद्यालय, विश्वविद्यालय सबैतिर वैकल्पिक प्रणालीलाई मूल बनाएर पठनपाठन गर्न आग्रह गरिएको छ,’ मन्त्री पाखरेलले थपे।

शैक्षिक सत्रको समय सकिएको र कक्षामा नियमित पढाइ हुने अवस्था नभएपछि मन्त्रालयले यो विकल्प अघि सारेको हो। अब विद्यालयहरुले भर्ना लिन नपाउने तर, विद्यार्थीको अभिलेख भने राख्नुपर्ने मन्त्री पोखरेलको भनाइ छ।

‘विद्यालयले भर्ना गर्ने कुरै छैन, यो अवस्थामा पहिलेको जस्तो भर्ना हुँदैन, विद्यालयहरुले विद्यार्थीको चाहिँ अभिलेखीकरण गर्नुपर्छ,’ उनले भने, ‘एउटा निर्देशिका आज मैले साइन गरेको छु त्यो निर्देशिकाले यी सबै कुरालाई समेट्दछ। आफ्नो सेवा क्षेत्रका सबै विद्यार्थीहरुलाई समेट्नुपर्छ।’

शुल्क पनि लिन पाउने
निजी विद्यालयले शुल्कको सीमा तोकेर वैकिल्पक कक्षाको पनि शुल्क लिन पाउने मन्त्री पोखरेलले जनाए। तर शुल्क लिनुअघि स्थानीय तहको अनुमति लिनुपर्ने उनले प्रस्ट्याए। यसअघि मन्त्रालयले वैकल्पिक कक्षाको शुल्क लिन रोक लगाएको थियो।

चार वटै विधिबाट पठनपाठन गरिएका विद्यार्थीहरुको परीक्षा लिने बारेमा मन्त्रालयले अध्ययन गरिरहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .