गण्डकी प्रदेशमा कोरोनाबाट एकैदिन २ जनाको ज्यान गएको छ। बुधबार बागलुङ नगरपालिका २ का ७७ वर्षीय पुरुषको पोखराको चरक मेमोरियल अस्पतालमा निधन भएको हो।
उच्च रक्तचाप, मधुमेहसहितका रोग रहेका उनी असोज २५ गते उपचारको लागि अस्पताल भर्ना भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ। यसअघि बुधबार नै पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा स्याङ्जा जिल्ला भीरकोट नगरपालिका वडा नम्बर २ निवासी ५२ वर्षीया महिलाको मृत्यु भएको थियो।
गण्डकी अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनको बुधबार बिहान ९ः३४ बजे निधन भएको हो। असोज २६ गते अस्पताल भर्ना भएका उनको आइसीयूमा राखेर उपचार हुँदै थियो। उनमा अन्य विभिन्न रोगहरु भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। यसअघि मंगलबार लमजुङ बेसीसहर–२ का ५६ वर्षीय पुरुषको पनि गण्डकी अस्पतालमा मृत्यु भएको थियो।
यता, गण्डकी स्वास्थ्य निर्देशनालयले तनहुँ जिल्ला भिमाद–६ का ७२ वर्षीय, ७५ वर्षीय र ९८ वर्षीय पुरुषको निधन भएको ढिलो गरि पुष्टि गरेको छ। उनीहरुको क्रमशः असोज १९ गते चितवन मेडिकल कलेज, २४ गते बि एण्ड बि अस्पताल काठमाडौं, र असोज २४ गते मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। कोरोनाका कारण जहाँ जुन अस्पतालमा मृत्यु भए पनि त्यसको अन्तिम तथ्यांक प्रदेशले नै राख्ने गरेको छ। हालसम्म गण्डकीका ४६ जनाको कोरोनाले ज्यान लिएको छ।
थप ८७ जनामा संक्रमण
गण्डकीमा बुधबार थप ८७ जनामा संक्रमण देखिँदा कुल संक्रमितको संख्या ५ हजार १८७ पुगेको छ। बुधबार २१ जना निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा ६१४ जनाको स्वाव परीक्षण गरिँदा कास्कीका ४८ जना,गोरखाका १७,तनहुँका ७,नवलपरासीका ६, स्याङ्जाका ३,बागलुङ र लमजुङका २-२ तथा पर्वत र म्याग्दीका १-१ जनामा संक्रमण पुष्टि भएको छ।
Shares
प्रतिक्रिया