गण्डकीमा कोरोनाबाट संक्रमितको संख्या ५४ पुगेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले सोमबार गण्डकीका २ जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेको हो।
मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं. १३ घर भई पर्वतको कुस्मा नगरपालिका वडा नं. ५ मेलमिलापचोकस्थित होम आइसोलेसनमा रहेकी ४८ वर्षीया महिला, नवलपुरको गैंडाकोट नगरपालिका १२ का ८५ वर्षे वृद्ध, नवलपुरकै देवचुली–११, निवासी ७५ वर्षीया वृद्धा तथा पोखरा–३ का ५६ वर्षीया महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो।
पोखराकी महिलाको यसअघि नै मृत्यु भए पनि सार्वजनिक गर्न छुटेको प्रदेश निर्देशनालयको भनाई छ।
यता, पर्वतकी महिलाको ३० असोजमा मृत्यु भएको हो। उपचारका लागि पोखरास्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई स्वाब लिइएकोमा मृत्यु भएकै दिन कोरोना पुष्टि भएको थियो।
संक्रमणको पुष्टि भएपछि उपचारका लागि गएको मेट्रोसिटी अस्पतालले होम आइसोलेसनमा बस्न भन्दै उनलाई घर पठाइएको थियो। ती महिला कुस्मा बजार आएकोबारे न त स्थानीय प्रशासनलाई थाहा थियो न त स्वास्थ्यकर्मीहरूलाई नै।
मेट्रोसिटीले कोरोना संक्रमित महिला पर्वत आउँदै गरेको भनी पर्वतका सम्बन्धित निकायमा जानकारी नगराएका कारण उनी घर फर्किने क्रममा कति जनाको सम्पर्कमा रहिन् भन्ने एकीन हुन सकेको छैन।
एक स्थानीयका अनुसार, मृतक महिला आइतबार बिहान बागलुङ जाने जिपमा आएर सदरमुकाम कुस्माको साझाचोकमा झरेकी थिइन्। उनी केहीबेर सडक छेउमा छटपटिए जस्तै अवस्थामा रहेकी थिइन्। लगत्तै श्रीमानले ट्याक्सी बोलाएर उनलाई घरमा लगेका थिए।
पर्वत अस्पतालका चिकित्सहरुले आफूहरूलाई संक्रमित महिला कुस्मामा रहेको भन्नेबारे जानकारी नभएको बताएका छन्।
परीक्षण गरिएकामध्ये आधामा संक्रमण यता, स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट गण्डकीमा २३० जनामा संक्रमण देखिएको छ।
४६४ जनाको स्वाब परीक्षण गरिएकोमा झण्डै आधाजतिमा संक्रमण पुष्टि भएपछि स्थिति नियन्त्रण बाहिर जानसक्ने खतरा बढेको छ।
संक्रमितमध्ये सबैभन्दा धेरै कास्कीका छन्। कास्कीमा १३२ जनामा संक्रमण देखिएको छ। तनहुँमा ३५,बागलुङमा २३,नवलपरासीमा १८,स्याङ्जामा १४,लमजुङमा ५,पर्वतमा २ र गोरखामा १ जनामा संक्रमण देखिएको हो।
संक्रमितमध्ये पनि १०८ जना त पोखरा महानगरपालिकाको विभिन्न वडाका रहेका छन्। गण्डकीका कुल संक्रमित ५ हजार ९६० पुग्दा २ हजार ३०१ सक्रिय संक्रमित रहेका छन्।
Shares
प्रतिक्रिया