ad ad

समाज


‘सवारी साधनमा जोर–बिजोर प्रणाली सर्वसाधरणलाई दुःख मात्रै’

‘सवारी साधनमा जोर–बिजोर प्रणाली सर्वसाधरणलाई दुःख मात्रै’

वसन्त अर्याल
कात्तिक ११, २०७७ मंगलबार ७:५६,

सरकारले कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा गुड्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिरहेको छ। कोरोना नियन्त्रणका नाममा जोर–बिजोर लागू भएको भए पनि यसका कारण सर्वसाधरणले दुःख मात्रै पाएका छन्।

सरकारले जोर–बिजोर लागू गरे पनि काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। देशभरमा एकैदिन ५ हजार संक्रमित हुँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजारसम्म संक्रमित भेटिएका छन्।

जोर–बिजोर प्रणाली लागू गरे पनि सरकार कोरोना नियन्त्रणमा भने असफल भएको छ। पहिला जोर–बिजोर लागू गर्नुपर्छ भन्ने जनस्वास्थ्यविद् पनि अहिले जोर–बिजोर प्रणालीका कारण सर्वसाधरणलाई दुःख मात्रै भएको बताउन थालेका छन्।

सरकारले दसैंको बिदामा समेत जोर–बिजोर कायम गरी सर्वासाधरणलाई दुःख मात्रै दिएको धेरैको गुनासो रहेको छ। सामाजिक सञ्जालमा धेरैले जोर–बिजोर प्रणालीको अब कुनै औचित्य नभएको भन्दै यसको विरोधसमेत गर्न थालेका छन्।

जनस्वस्थ्यविद् समिरमणि दीक्षित सवारी साधनमा जोर–बिजोर नियम कार्यन्वय जरुरी नभएको बताउँछन्। दसैंको समय वा अन्य समय जोर–बिजोरको कुनै फाइदा नभएको भन्दै उनले सर्वसाधरणलाई दुःख मात्रै भएको बताए।

‘सुरुवाती अवस्थामा हामीलाई धेरै थाहा थिएन, त्यसैले यो कदमको विरोध गरिएन’, नेपालखबरसँग दीक्षितले भने, ‘तर, अब त जोर–बिजोरको फाइदा नभएको देखिसकियो।’

कोरोनाको सम्भावित संक्रमण रोक्नका लागि सरकारले चैत ११ देखि देशभर लकडाउनको घोषणा गरेको थियो। भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएसँगै भारतबाट आउने नेपालीलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा नेपालमा कोरोना संक्रमण फैलन सुरु भएको थियो।

लकडाउनको समयमा पनि संक्रमितको संख्या बढ्दै जाँदा सर्वसाधरण तथा व्यवसायीले देशको अर्थतन्त्र डामाडोल हुने भन्दै लकडाउनको उल्लंघन गर्न थालेपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तत गर्दै जेठ ३० देखि जोर–बिजोर लागू गरेको थियो। जोर–बिजोर नम्बर प्लेटका सवारी चलाउन पाउने नियम निजी सवारीमा मात्रै लागू गरिएको थियो। मोटर साइकलमा २ जना चढ्न नपाउने नियम बनाएको थियो।

लकडाउन खुलेपछि अधिकांश कार्यलय खुले तर सार्वजनिक यातायात खुलेनन्। जोर–बिजोरका आधारमा चल्ने मोटरसाइकल तथा स्कुटरमा एक जाना मात्रै यात्रा गर्न पाउने सरकारले नियम बनायो। यो नियमले पनि सर्वसाधरणले नै दुःख पाए।

लामो समयसम्म सार्वजनिक यातायात नखोल्दा चर्को विरोध हुन थालेपछि सरकारले असार २६ बाट यातायात खुल्ला गर्ने निर्णय गर्यो । उपत्यकाका ३ जिल्ला र हरेक जिल्लाभित्र छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो। २६ असारबाटै निजी सवारी साधनको जोर–बिजोर हटाइयो।

यातायातका साधन खुलेसंगै फेरी कोभिड १९ का संक्रमित बढेको भन्दै साउन २२ मा सवारी साधनमा– जोर विजोर लागू गर्यो । भदौं ३ देखी त काठमाडौं उपत्यका सहित ४४ जिल्लामा निषेधाज्ञा लागु भयो । केहि जिल्लामा १ हप्तामै हटे पनि उपत्यकामा ३ पटकसम्म समय थप्दै भदौ अन्तिमसम्म निषेधाज्ञा रहयो ।

निषेधाज्ञा तथा लकडाउनको कारण रोगभन्दा भोकले मर्ने जोखिम बढेको भन्दै विरोध भएपछि भदौ २५ बाट लागू हुने गरी उपत्यकाभित्र र असोज १ देखि लामो दूरीका सवारी पनि खुल्ला गर्ने निर्णय गर्यो। उपत्यकामा भने निजी र सार्वजनिक दुवैमा जोर –बिजोर प्रणाली कायम नै राख्यो।

‘सरकारले जोर–बिजोर प्रणाली कायम गरेर काम गरिखानेलाई दुःख दिइरहेको छ,’ काठमाडौंका ट्याक्सी चालक दीपक नेपाल भन्छन् ‘जोर–बिजोर प्रणालीको अब काम छैन।’

ट्राफिक प्रहरी महाशाखाले सरकारको निर्णय भएकाले जोर–बिजोर हट्ने निर्णय नगर्दासम्म आफूहरुले कार्यन्वयन गर्ने बताएको छ। ट्राफिक प्रहरीले दसैंको टीकाको दिन केही छुट दिएको भए पनि अब फेरि नियम पालना नगर्नेलाई कारबाही गर्ने बताएको छ।

‘सरकारले गरेको निर्णय हामीले कार्यन्वयन गरेको हो,’ ट्रफिक प्रहरीका प्रवक्ता एपी रामेश्वर प्रसाद यादवले भने ‘काठमाडौं उपत्याकामा भाडा र निजी दुवै प्रकारका गाडीमा यो नियम लागू छ। सरकारले जोर–बिजोर हटाउने निर्णय नगर्दासम्म लागू हुन्छ।’

उनले उपत्यकामा दैनिक ५ सयदेखि हजार गाडीसम्म जोर–बिजोर प्रणाली उल्लंघनको कारबाहीमा पर्ने गरेको बताउँछन्। ट्राफिक प्रहरीले जोर–बिजोर अनुसार नचल्ने सवारीलाई दिनभर होल्डमा राखी साँझ छाड्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .