२०५१ पुसबाट नेपाल प्रहरीमा सेवा सुरु गर्नुपहिले नै देउती गुरुङ निजामति सेवामा प्रवेश गरेकी थिइन्।
निजामतितर्फ अधिकृतको नियुक्ति पाएको केही महिनामै उनले राजीनामा बुझाइन्। यसको कारण थिए– नेपाली सेनामा कार्यरत् बुबा कृष्णबहादुर गुरुङ। उनले छोरीलाई नेपाल प्रहरीमा भेटनरी डाक्टरमा विज्ञापन खुलेको जानकारी दिँदै फर्म भर्न प्रोत्साहित गरे।
धादिङकी देउतीले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा भारतमा अध्ययन सकेर फर्केकी थिइन्। नेपाल फर्किएपछि लोक सेवा परीक्षाको तयार गरिन् र प्रतिस्पर्धामा सफल पनि भइन्। तर उनले निजामति सेवाको त्यो यात्रा केहि महिनामै टुंग्याएर नयाँ गन्तव्य रोजिन्।
समान पद भए पनि बुबाको प्रोत्साहन पाएपछि उनले प्रहरी सेवा छानिन्। आफू प्रहरी सेवाका लागि त्यति फिट हुनेजस्तो उनलाई लाग्दैनथ्यो।
तर बुबाकै सल्लाहमा भेटनरी डाक्टरका रुपमा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा छनोट हुन सफल भइन्।
देउतीको बढुवापछि पनि उनको कार्यथलो परिवर्तन भएन। जागिर जहाँबाट सुरु भयो उनी त्यहिँ नै सेवारत् छन्। उनको कार्यकाल चार वर्ष बाँकी छ। तर अब पनि उनको सरुवाको संभावना छैन। नेपाल प्रहरीको डग स्कुलमा त्यतिबेला डीएसपीले कमाण्ड गर्थे। डग स्कुलमा जागिर खानेका लागि त्यहाँभन्दा माथिको ढोका खुलिसकेको थिएन।
जागिर सुरु गर्दा उनी प्रहरीको एकमात्र भेटनरी डाक्टर थिइन्। डग स्कुलको त एक्लो महिला प्रहरी पनि। तर आज अवस्था परिवर्तन भएको छ। उनको बढुवासँगै डग स्कुलको कमाण्ड एसएसपीको नेतृत्वमा पुगेको छ।
देउती गुरुङ हाल एसएसपी हुन्। डीएसपी हुँदादेखि नै नेतृत्व गर्न थालेकी गुरुङको बढुवासँगै त्यहाँ दरबन्दी थपिँदै गएको हो।
उनी डग स्कुलको इन्चार्ज भएको १४ वर्ष भयो। नेपाल प्रहरीमा अपराध अनुसन्धानमा कुकुरको प्रयोग बढ्दै गयो। कुकुरको संख्या पनि थपिँदै गयो। अहिले प्रहरीसँग ९६ वटा कुकुर छन्। संख्या थपिने क्रम जारी छ।
कुकुरको सहयोगमा अनुसन्धानमा राम्रो नतिजा आएकै कारण हरेक प्रदेश र संवेदनशील सीमा नाकाहरुमा कुकुरका बिट स्थापना गरिँदैछ। सोहि अनुकुलका गाडि समेत खरिद गर्न थालिएको छ।
धेरै अन्तर्राष्ट्रिय तालिम पनि लिइसकेकी देउतीले अनुसन्धानका बेला कुकुर ह्याण्डलिङबारे राम्रो दक्षता हासिल गरेकी छन्।
‘जनावर भनेको बच्चा जस्तै हो। उसलाई जे सिकायो त्यही सिक्छ। कुकुरलाई पिट्नु हुँदैन, माया गरेर उसबाट काम लिनुपर्छ,’ एसएसपी देउती भन्छिन्, ‘उ खुसी भयो भने आफ्नो ह्याण्डलर (सम्हाल्ने व्यक्ति) लाई खुसी पार्न खोज्छ र अनुसन्धानमा राम्रो नतिजा दिन्छ।’
आधारभूत तालिमपछि कुन कुकुरलाई कुन क्षेत्रमा प्रयोग गर्ने भनेर छुट्याइन्छ।
‘सबैभन्दा गाह्रो काम भनेको अपराध अनुसन्धानमा प्रयोग गर्ने ट्र्याकर डग हो। क्षमता बढी भएकालाई यता राख्छौं। अलि कम भएकोहरुलाई लागु औषधमा प्रयोग गर्छौं,’ उनले भनिन्।
भीआईपी सुरक्षामा समेत अहिले कुकुरको प्रयोग बढ्दै गएको छ। अमेरिकी दूतावासले आफ्ना भीआईपी आएको समयमा कुकुरसहितको सुरक्षा अनिवार्य माग गर्छ।
यो सबै विश्वास जित्नुमा उनीहरुको मेहनत छ। अनुसन्धानमा सफल हुँदै गएकै कारण प्रहरी प्रधान कार्यालय पनि कुकुरमा लगानी बढाउँदै जान तयार भएको हो।
आजकल नयाँ नयाँ जातका कुकुर पनि ल्याउन थालिएको छ। एउटा कुकुरको बच्चाको मूल्य ७ लाख रुपैयाँसम्म पर्छ। नेपाल प्रहरीसँग छिमेकी देशमा नपाइने प्रजातिका कुकुरहरु पनि छन्। कुकुर परिचालनको तालिममा पनि केहि वर्षयता सुधार र निखार ल्याइएको छ।
पहिले कुकुरलाई नेपालकै मासु र भात खुवाइन्थ्यो। अहिले कुकुरका लागि युरोपबाट तयारी खाना ल्याइन्छ। त्यसले गर्दा कुकुर स्वस्थ भएको गुरुङले बताइन्।
उनका अनुसार नेपालमा पाइने खानाले कुकुरलाई पौष्टिक आहार पुग्दैन। त्यही भएर विदेशबाट मगाइएको हो। कुकुरको उमेरअनुसार पनि फरकफरक खाना खुवाइन्छ।
एउटा कुकुरका लागि दुई जना ह्याण्डलर आवश्यक पर्छ। अहिले प्रहरीमा १६५ जना प्रहरी डग स्कुलमा कार्यरत् छन्। कुकुर परिचालनका लागि छुट्टै विज्ञापन खुल्छ। प्रहरीले आधारभूत तालिम लिएर यहाँ काम गर्न थाल्छन्।
दरबन्दी बिनाको ठाउँमा पहिलो डाक्टरका रुपमा प्रवेश गरेकी देउती इन्सपेक्टरबाट डीएसपी हुने र डीएसपीबाट एसपी हुने ठाउँ नै थिएन।
उनले प्रहरीमा कुकुरबाट अनुसन्धानको क्षेत्र विस्तार गर्नुका साथै विज्ञता हासिल गर्दै गइन् भने त्योसँगै उनको काँधमा फूली थपिँदै गयो।
कतै दुर्घटना भएमा वा बम बारुद फेला परेपनि कुुकुरलाई नै अगाडि सारिन्छ। कुकुरले सुँघेर संकेत दिएपछि अरु प्रहरी त्यहाँ अघि बढ्छन्।
‘दुःख त जहाँ भए पनि गर्नैपर्थ्याे, मैले पनि त्यही गरेको हुँ र मलाई दुःख गरेअनुसार ठीकै भइरहेको छ,’ देउतीले आफ्नो कामको समीक्षात्मक टिप्पणी गरिन्।
अहिले त अरु तीन जना महिला पनि डग स्कुलमा प्रवेश गरेका छन्। महिलाका लागि कोटा छुट्याएर पनि भर्ना गर्न थालिएको छ।
त्यसो त उनले जनपदको कमाण्ड गरेर पनि काम गरिसकेकी छन्। दुई देशमा मिसनमा गएकी देउती इस्ट टिमोरमा अप्रेसन चिफ भएर पुगेकी थिइन्।
कुकुरलाई सामान्यतः दुई दिनभित्रका घटनामा परिचालन गरिन्छ। कसैले नछोएका र प्रमाण सुरक्षित राखेका घटनामा कुकुरले बढि सफलता हात पार्ने संभावना हुन्छ। त्यही भएर कुकुर प्रयोग गर्ने घटनामा बाहिरी सुरक्षा दिएर पहिले कुकुरलाई नै त्यहाँ लगिन्छ।
ब्लडहाउन्ड डग भन्ने प्रजाति अपराध अनुसन्धानमा विश्वमै सफल मानिन्छ। नेपाल प्रहरीमा त्योसहित ८ जातका ९६ वटा कुकुर छन्।
जर्मन सेफर्ड र बेल्जियन डग पनि प्रयोग गरिन्छ। यी तीन जातका कुकुर बढी मात्रामा छन्। ब्लडहाउन्डको विशेषता अलिक फरक छ। उसको सुँघ्नसक्ने क्षमता अरुको भन्दा बढी हुन्छ। जर्मन सेफर्डले दुई दिन पूरानोसम्म घटना पत्ता लगाउन सक्छ भने ब्ल्डहाउन्डले तीनदिन पूरानोसम्म घटना पत्ता लगाउन सक्छ।
अहिले काठमाडौंबाहिर पनि प्रहरीसँग यस्ता कुकुर छन्। कुनै ठाउँमा कुकुरबाट अनुसन्धान गर्नुपर्ने भएमा नजिकको युनिटबाट लगिन्छ।
जनकपुरको विमानस्थलमा र लालगढ, हेटौडा, पोखरा, कोहलपुर, धनगढी र अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यस्ता कुकुर राखिएको छ।
अब लुम्बिनी प्रदेशमा पनि पठाउने तयारी भइरहेको गुरुङले बताइन्।
देउतीलाई थाहा छैन, उनको काँधमा अर्को फूली थपिएला वा नथपिएला। तर ‘अबका चार वर्षमा कुकुरको प्रयोग र सफलता दुबै पक्कै बढ्नेछ’ भन्ने अठोट र आत्मविश्वास भने उनले ढुक्कका साथ व्यक्त गरिन्।
प्रतिक्रिया