ad ad

समाज


कतारको रोजगारीमा म्यानपावरले सिन्डिकेट सुरु गरेको आशंका, विभागले बढायो निगरानी

कतारको रोजगारीमा म्यानपावरले सिन्डिकेट सुरु गरेको आशंका, विभागले बढायो निगरानी

उजिर कार्की
मंसिर १०, २०७७ बुधबार १५:४५,

कतारमा श्रमिक पठाउन म्यानपावर कम्पनीले सिन्डिकेट खडा गर्ने योजना तयार पारेको आशंका वैदेशिक रोजगार विभागले गरेको छ। सोमबार र मंगलबार कर्मचारी छनोट गर्न अन्तर्वार्ता लिँदै गरेको स्थानमा विभागले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। यससँगै केही म्यानपावर कम्पनीले सिन्डिकेटको अभ्यास गरेको विभागको भनाइ छ।

अनुमतिबिनै श्रमिक छनोट थालेका होप इन्टरनेसनल, एसओएस र डीडी ह्युमन रिसोर्स म्यानपावर कम्पनीमाथि विभागले कारबाही थालेको छ।

कतारमा सुरक्षागार्डका लागि भन्दै यीसहितका १६ वटा म्यानपावर कम्पनीले श्रमिक छनोटको काम सुरु गरेको विभागका एक अधिकृतले बताए।

‘सिन्डिकेटको हल्ला चलेपछि छानबिन भइरहेका बेला तीनै म्यानपावर कम्पनीले गोप्य रुपमा अन्तर्वार्ता लिइरहेको पाइएको छ,’ ती अधिकृतले भने, ‘अहिलेसम्मको अध्ययनले अघोषित रुपमा सिन्डिकेट सुरु गर्ने तयारी देखिन्छ।’

कतारमा सिन्डिकेट लगाउन लागिएको भन्दै विभागका महानिर्देशकको संयोजकत्वमा सरकारले छानबिन गरिरहेको छ। कतारमा ४ हजार सुरक्षा गार्ड पठाउन अनुमतिबिनै प्रक्रिया सुरु गरेको पाइएको विभागका एक अधिकृतले नेपालखबरलाई बताए।

‘विभागले लिएको स्पष्टीकरणमा समेत कतारबाट माग पत्र ल्याउने प्रक्रिया भइरहेको बताएका छन्। माग पत्र आउने सुनिश्चित भएपछि उनीहरुले यता अरु प्रक्रिया पुरा गरिसक्ने गरी तयारी गरेको देखिन्छ। माग पत्र आउनासाथ श्रमिक पठाउने उनीहरुको योजना रहेछ,’ उनले भने।

अन्तर्वार्तास्थलमा चार जना कतारी नागरिक र नेपालस्थित कतारी दूतावासको गाडी समेत फेला परेकाले यो प्रक्रियामा कतारको समेत संलग्नता रहेको आशंका गरिएको छ। तर मंगलबार कतार दूतावासले गाडी दिएको भएपनि यो प्रक्रियामा दूतावासको संलग्नता नरहेको दाबी गरेको छ।

वैदेशिक रोजगारीमा पठाउनका लागि सबैभन्दा पहिले मागपत्र सम्बन्धित देशमा रहेका दूतावासमा प्रमाणीकरण गराउनुपर्छ। ती देशका दूतावासले अभिलेख तयार गर्छन्। सोही अभिलेख भिडाएर वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति दिन्छ।

127468820_3419037184840607_8410771878339510045_n.jpg

विभागबाट पूर्वस्वीकृति लिएपछि मात्रै म्यानपावर कम्पनीले श्रमिक छनोटको प्रक्रिया सुरु गर्न पाउँछन्। तर पछिल्लो समय कतारमा सिन्डिकेट लगाउने तयारी गरेका १६ वटा म्यानपावर कम्पनीले कतार भिसा सेन्टर र कतारका कम्पनीसँग मिलेर गोप्य रुपमा श्रमिक छनोट गरिरहेको खुलेको हो। तीमध्ये तीन वटा म्यानपावर कम्पनीमा विभागले छापा मारेर प्रक्रिया बन्द गराएको छ।

ती म्यानपावर कम्पनीको सबै कारोबार समेत रोक्का गरिएको विभागका निर्देशक तथा सूचना अधिकारी टीकामणि न्यौपानेले बताए। यस सम्बन्धका वैदेशिक रोजगार विभागले थप अनुसन्धान सुरु गरेको छ।

विभागले बुधबार समेत केही म्यानपावर कम्पनीमा अनुगमन गरेको छ। त्यसक्रममा केही म्यानपावर कम्पनीले चार जनाको पूर्वस्वीकृति लिएर धेरै जना कामदारसँग पासपोर्ट र रकम लिएको समेत पाइएको छ।

तर श्रमिकले नै उजुरी नदिएका कारण कारबाही भने अगाडि बढाउने आधार नभएको विभागको भनाइ छ। कोरोना संक्रमणका कारण व्यवसाय नचलेपछि म्यानपावर सञ्चालकले श्रमिक ठग्ने र पैसा असुल्ने नयाँनयाँ तरिका अपनाउन थालेकाले निगरानी बढाइएको निर्देशक न्यौपानेले बताए।

संघको पनि आपत्ति
तीन म्यानपावर कम्पनीले अवैध रुपमा गरेको कार्यप्रति वैदेशिक रोजगार व्यवसायी संघले पनि आपत्ति जनाएको छ। बुधबार दिउँसो बसेको संघको बैठकले बिनाअनुमति गोप्य रुपमा अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको संघका महासचिव सुजित श्रेष्ठले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई कतारको सिन्डिकेटको बारेमा छानबिन गर्न र गैरकानुनी ढंगले गोप्य रुपले अन्तरवार्ता गर्ने कम्पनीहरुमाथि कडा कारबाही गर्न पनि संघले माग गरेको छ।

विभागले छापामार्ने क्रममा कतार दूतावासको सवारी साधन प्रयोग गरिएको पाइएको हुँदा सो सम्बन्धमा परराष्ट्र मन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोग मार्फत कतारी मानवअधिकार आयोगमा बुझिदिन समेत संघको माग छ।

127175768_1890043691135918_838286117164550664_n.jpg

सिन्डिकेट छैन: म्यानपावर सञ्चालक
कतारमा सिन्डिकेट लगाउन अगुवाइ गरेको आरोप लागेपछि एसओएस म्यानपावर कम्पनीका सञ्चालक हेम गुरुङले भने त्यसको खण्डन गरेका छन्। सोमबार विभागले उनको म्यानपावर कम्पनीमा समेत छापा मारेको थियो। तर म्यानपावर कम्पनी बाहिर मात्रै ठूलो संख्यामा श्रमिक भेला भएका थिए।

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वसँग आफू सिन्डिकेटको पक्षमा नरहेको बताइसकेको उनले जनाए।

‘कतार दूतावासमा बुझ्दा पनि हुन्छ, माग पत्र आएजतिको प्रमाणित गरिदिन्छ भने हामीलाई आरोप लगाउनुको तुक छैन,’ उनले भने।

कतार पुलिसमा पठाइदिनु भन्दै श्रमिक भेला भएको र अहिले मागपत्र नआएकाले फर्काएको दाबी उनले गरे। आफ्नो कार्यालयमा तीन सय बढी श्रमिक कतार पठाइदिन आग्रह गर्दै भेला भएको र पहिले देखिनै आफूले पठाउँदै आएको बताए।

पहिलेदेखि नै आफूले यस क्षत्रमा श्रमिक पठाउँदै आएकाले अहिले पनि त्यस्तै श्रमिक भेला भएको बताए।

‘अन्य म्यानपावर कम्पनीले के गरे त्यो मलाई थाहा भएन तर मेरो कम्पनीले अन्तर्वार्ता लिने काम गरेको छैन। जुन दिन प्रक्रिया पूरा हुन्छ त्यही दिन पठाउँछौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .