ad ad

समाज


अनुदानको आलुको बिउ बजार मूल्यभन्दा २० रुपैयाँ महँगो, ५० किलो आलु लिन तीन दिनदेखि लाइनमा

अनुदानको आलुको बिउ बजार मूल्यभन्दा २० रुपैयाँ महँगो, ५० किलो आलु लिन तीन दिनदेखि लाइनमा

शैलेन्द्र महतो
मंसिर २०, २०७७ शनिबार १०:१४,

बजार भाउभन्दा प्रतिकिलो २० रुपैयाँ बढी मूल्यमा सरकारी अनुदानको आलुको बिउ किसानलाई वितरण भएको पाइएको छ। बजारमा सर्वत्रप्रति किलो ७० रुपैयाँमा पाइने आलुको बिउ कृषि ज्ञान केन्द्र धनुषाले ९० रुपैयाँमा वितरण गरिरहेको छ।

जनकपुरको पुल चोकस्थित रहेको गीत एग्रोभेट प्रालिसँग सम्झौता गरी मंसिर १५ गतेदेखि किसानलाई आलुको बिउ वितरण गरिरहेको ज्ञान केन्द्र धनुषा प्रमुख शंकर साहले बताए। उनका अनुसार जिल्लाका १८ वटा पालिकाका ५ सय किसानलाई ५० प्रतिशत अनुदानमा वितरण कार्य भइरहेको छ।

ज्ञान–केन्द्रले सुरुमा मागपत्र दिन आएको बेला लालगुलाब प्रजातीको आलुको बिउ प्रतिकिलो ७० रुपैयाँमा दिने भने पनि अहिले त्योभन्दा पनि कम गुणस्तरीय आलुको बिउ ९० रुपैयाँ प्रतिकिलोमा वितरण गरिरहेको छ। धनुषाको विदेह नगरपालिका ३ का सत्रोहन रायले कार्यालयले मनपरी सस्तो खालको आलु ९० रुपैयाँ प्रतिकिलो दिएर किसानलाई ठगि रहेको आरोप लगाए।

‘५० प्रतिशत सरकारी अनुदानमा किसानलाई अलि सुलभ भएकाले मात्रै लिन आएको छौं। तर त्यो आलु पाउन पनि हामीलाई सास्ती छ’ बिहीबार कार्यालय पुगेको बेला उनले गुनासो गर्दै भने, ‘५० किलो आलु लिन तीन दिनदेखि दौडधुप गरिरहेको छु। अझै दिएको छैन । त्यो पनि पहुँचबालालाई हाकिमले सहजै उपलब्ध गराइदिन्छन्।’

अर्का किसान बटेश्वर गाउँपालिका ३ का श्रीनारायण महतोले ज्ञान केन्द्रले किसानहरुलाई कार्तिकमै दिनुपर्ने आलु मंसिरमा ढिला गरी वितरण गरेको र त्यसमा पनि बजार भाउभन्दा महँगोमा उपलब्ध गराएर ठगी गरिरहेको आरोप लगाए।

‘बजारमा ७० रुपैयाँ किलो पर्ने आलु यहाँ सरकारले ९० रुपैयाँमा उपलब्ध गराइरहेको छ। ५० किलोको आलु बोरामा १० किलो कुहेकाे निस्कियो। अनुदानको आलु पनि महँगो नै पर्यो। त्यो पनि लालगुलाब नभएर अर्कै प्रजातिको छ’, किसान श्रीनारायणले भने, ‘यहाँ किसानको नाममा अनुदानको आलुमा व्यापक अनियमितता गर्न कर्मचारीहरुको सेटिङ छ।’

No description available.

ज्ञान केन्द्रले प्रतिकिलो ९० रुपैयाँमा वितरण गरिरहेको आलु भने बजारमा ७० रुपैयाँ बिक्री वितरण गर्ने गरेको व्यवसायीहरु नै बताउँछन्।

आलुको बीउ ७० रुपैयाँ प्रतिकिलो बिक्री गरिरहेको जनकपुर पेठिया बजारका आलु व्यपारी रामभरोसले बताए। थोकमा अझै मूल्य कम रहेको र आलुको प्रकार अनुसार दाम रहेको उनको भनाइ छ।

बजारमा ७० रुपैयाँप्रति किलो पाउने आलु ९० रुपैयाँमा किन किसानलाई उपलब्ध गराउँदै हुनुहुन्छ प्रश्न गर्दा ज्ञान केन्द्रका प्रमुख शंकर साहले सार्वजनिक खारिद ऐन अनुसार सम्झौता गरेर वितरण गरिरहेको बताए। ‘बजारमा कसरी छ भन्ने मलाई थाहा छैन। हामीले टेन्डर आह्वान गर्यौ। तीनवटा फारमले दरखास्त दियो। त्यसमध्ये कममा ९० रुपैयाँप्रति किलो जसले उपलब्ध गर्ने भनेको थियो। उसैसँग सम्झौता गरी वितरण गरिरहेका छौं’ प्रमुख साहले भने।

१८ वटा पालिकाबाट १५ सय किसानले आलु बिउको लागि आवेदन दिएकोमा ५ सय किसानलाई मात्रै नागरिकता र पालिकाको आधारमा वितरण गरिरहेको उनले बताए। एउटा पालिकाबाट परेको आवेदनको २० प्रतिशत किसानलाई मात्र ५० किलो आलु बिउ वितरण गरिरहेको प्रमुख साहको भनाइ छ। जसमध्ये बिहीबारसम्म धनुषाको १८ वटा पालिकामध्ये लक्ष्मीनिया गाउँपालिका, जनकनन्दनी गाउँपालिका र औरही गाउँपालिकाको २० प्रतिशत किसानले पाइसकेको र अब ती पालिकामा कसैले नपाउने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .