ad ad

समाज


कानमा लगाएको मुन्द्रा लुट्न ६ वर्षीया बालिकाको अपहरणपछि हत्या

कानमा लगाएको मुन्द्रा लुट्न ६ वर्षीया बालिकाको अपहरणपछि हत्या

उजिर कार्की
मंसिर २६, २०७७ शुक्रबार १४:३९,

सुनका मुन्द्रा लुट्न रसुवामा ६ वर्षीया बालिकाको अपहरण गरी हत्या भएको छ। गत आइतबार विद्यालय गएकी रसुवाको कालिका गाउँपालिका १ फेलाङका अमितकुमार तामाङकी ६ वर्षीया छोरी सुमिना बेपत्ता भएकी थिइन्।

उनलाई सोही दिन विद्यालयबाट घर फर्किंदै गर्दा नुवाकोटको किस्पाङ गाउँपालिका-५ की १९ वर्षीया सपना तामाङले अपहरण गरी हत्या गरेको प्रहरीले जनाएको छ। बालिकालाई आमा भएको ठाउँमा पुर्‍याइदिन्छु भन्दै चकलेट र चाउचाउ किनिदिएकी सपनाले विद्यालयभन्दा २ किलोमिटर पर लगेर सुनका मुन्द्रा खोलेकी थिइन्।

आफ्ना मुन्द्रा लगेपछि बालिकाले आमाबुबालाई भनिदिन्छु भनेकाले आफूले डोरीले घाँटी कसेर हत्या गरेको सपनाले वयान दिएकी रसुवाका प्रहरी प्रमुख डीएसपी इन्द्र सुवेदीले बताए।

विद्यालय गएकी छोरी घर नफर्किएपछि परिवारले सोमबार प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले खानतलास गर्ने क्रममा सुरुमा बालिकाको अवस्था बारे कुनै जानकारी पाएन।

‘हामीले सबै हिसावबाट अनुसन्धान गर्दा पनि अपराधमा संलग्नको पहिचान हुन सकेन। बालिकाको पनि कुनै खबर पत्ता लागेन’, डीएसपी सुवेदीले भने, ‘गाउँमा एक जना नयाँ युवती आएको पत्ता लाग्यो, ती युवती यसअघि पनि चोरीको मुद्दामा एक वर्ष वालसुधार गृहमा बसेर छुटेकी थिइन्। अनि हामीले उनी नै भएको आशंकामा खोज्न थाल्यौं।’

प्रहरीले उनको मोवाइल पत्ता लगाएर सम्पर्क गर्दा पनि उनले प्रहरीलाई ढाँटिन्। प्रहरीले प्राविधिक अनुसन्धानपछि उनलाई रसुवाकै कालिका गाउँपालिका २ को घुम्ती बजारमा मंगलबार फेला पार्‍यो।

उनी सडकमा हिँडिरहेका बेला प्रहरीले पक्राउ गरेर सोधपुछ सुरु गर्‍यो। उनले बालिकाका सुनका मुन्द्रा आफूले लिएको स्वीकार गरे पनि बालिकाको हत्या गरेको भने स्वीकारिनन्।

बालिकाको हत्यामा प्रयोग गरिएको डोरी भने सपनाको साथमै फेला परेको थियो। उक्त डोरी फेला पार्नासाथ प्रहरीले बालिकाको हत्या गरिएको अनुमान गरेको डीएसपी सुवेदीले बताए।

‘बच्चालाई काठमाडौं पठाइदिएँ, बच्चा पठाइदिए वापत मलाई ८ लाख रुपैयाँ दिने भनेका छन्, सुनका मुन्द्रा निकालेर मलाई चिया खर्च हुन्छ भनेर दिएर गए, अरु पैसा पाएको छैन’, सपनाले प्रहरीलाई यसरी झुट बताएकी थिइन्’ डीएसपी सुवेदीले भने।

तर प्रहरीले उनको कुरा पत्याएन र बालिका खोजतलास जारी राख्यो। सोही क्रममा मंगलबार विद्यालयभन्दा २ किलोमिटर टाढा रहेको नागार्दुङ ओढारमा बालिकाको शव फेला पर्‍यो।
बालिकाका कपडा र झोला भने ओढारभन्दा परै फेला परेको थियो।

सपना पटक पटक अपराधमा संलग्न रहेको र घरमा पनि नबस्ने गरेको पाइएको छ। उनले विद्यालयबाट फर्किंदै गरेकी बालिकाको कानमा सुनका मुन्द्रा देखेपछि अकस्मात योजना बनाएको बताएकी छन्।

एकान्तमा रहेको ओडारमा पुर्‍याएपछि हत्या गरेर विलाउनेको स्याउलाले छोपेर भागेकी थिइन्।

प्रहरीले उनलाई पक्रनासाथ सुन खोइ भनेर सोध्यो। उनले सुन बेचेको बताइन्। सोही बजारमा उनले सुनका मुन्द्रा ६ हजार रुपैयाँमा बेचेको पत्ता लागेको छ। तीन हजार १ सय ८० रुपैयाँ खर्च गरेको र २ हजार ८ सय २० रुपैयाँ उनको साथमा फेला परेको छ। सुन किन्ने व्यापारीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। १० हजार रुपैयाँ बराबरका गहना भए पनि उनले ६ हजारमा पाएपछि किनेका थिए।

यसअघि १८ वर्ष नपुगेका कारण वालसुधार गृहमा एक वर्ष बसेर छुटेकी सपना अन्य चोरी मुद्दामा पनि संलग्न रहेको पाइएको छ।

सपनाविरुद्ध अपहरण, ज्यान सम्बन्धी र चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत रसुवामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .