ad ad

समाज


३५ दिने म्यादमा हाजिर भएनन् बम्जन, अब एक पक्षीय फैसलाः अदालत

३५ दिने म्यादमा हाजिर भएनन् बम्जन, अब एक पक्षीय फैसलाः अदालत

उजिर कार्की
मंसिर ३०, २०७७ मंगलबार १:३६,

अनुयायी किशोरी बलात्कार आरोपमा मुद्दा चलाइएका तपस्वी रामबहादुर बम्जनले अदालतले हाजिर हुन दिएको म्याद गुजारेका छन्।

गत कात्तिक २४ गते बाराको निजगढ नगरपालिका १२ स्थित उनको घरमा जिल्ला अदालत सर्लाहीले ३५ दिने सूचना टाँस गरी अदालतमा हाजिर हुन भनेको थियो। सोमबार ३५ दिन पूरा हुँदा पनि बम्जन उपस्थित नभएको सर्लाही जिल्ला अदालत स्रोतले जनाएको छ।

आफूलाई तपस्वी बताउने रामबहादुर भनिने रामलाल बम्जनविरुद्ध उनकै आश्रममा रहेकी १८ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। घटनाको थप अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले गत असार १८ गते जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेको छ।

‘अदालतले दिएको म्याद सोमबारबाट सकियो, उहाँ उपस्थित हुनु भएको छैन’, अदालतका एक अधिकारीले भने, ‘अब पीडित किशोरीसँग बकपत्र गरेर अदालतले आफ्नो प्रक्रिया सुरु गर्छ।’

यो पनिः
किशोरीको बयानः बम्जनले सुत्ने कोठामा लगेर बलात्कार गरे, श्रीमतीले झापड हानिन्

पीडितको बकपत्र गरेपछि बलात्कार आरोपी बम्जनले वकिल राख्न समेत पाउने छैनन्।

‘अब उहाँलाई गाह्रो हुन्छ, उहाँ हाजिर नभएसम्म वकिल राख्न पनि मिल्दैन। अब अदालतले एक पक्षीय फैसला गर्छ’, उनले भने, ‘अब मेडिकल रिपोर्ट र पीडितको बयानका आधारमा अदालतले आदेश गर्छ।’

बम्जन अदालत नआउनु भनेको आफ्नो कमजोरी स्वीकार्नु अर्थ लाग्ने उनको भनाई छ। बम्जन यसअघि पनि लुकिछिपी बस्दै आएका छन्। प्रहरी प्रतिवेदनमा पनि उनलाई फरार रहेको भनिएको छ।

बम्जन अदालतमा उपस्थित भएर आफ्नो कुरा राखेर जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत र सर्वोच्च अदालतसम्म जान सक्छन्। तर उनले जिल्ला अदालतमा नै आफूविरुद्धको आरोपको प्रतिरक्षा गर्न नचाहेको देखिएको छ।

अब बम्जनलाई प्रहरीले पनि जुनसुकै बेला पक्राउ गर्न सक्छ। तर प्रहरीले पक्राउ गरे पनि सिधै अदालतमा बुझाउनु पर्ने छ। प्रहरीले उनीमाथि सोही मुद्दामा अनुसन्धान गर्ने हद म्याद नाघिसकेको छ।

यसअघि बम्जन बस्ने सिन्धुलीस्थित आश्रममा दुई पटक छापा मार्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेन। २०७६ माघ २४ गते र २०७७ असार ४ गते बम्जनलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा प्रहरी टोली सिन्धुली पुगेको थियो। तर दुवै पटक बम्जनलाई फेला पार्न प्रहरीले सकेन। 

२०७६ माघ २३ गते नै जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

सर्लाहीको पत्थरकोटस्थित आश्रममा २०७३ साउन २० गते राति आफूलाई बम्जनले बलात्कार गरेको किशोरीको आरोप छ। बलात्कार गरिसकेपछि घटना बाहिर नल्याउन आफूलाई धम्की दिएको समेत उनले बयानका क्रममा बताएकी छन्।

प्रहरी प्रतिवेदना बम्जनले बाल यौन शोषण गरेको भन्दै बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) (छ) र (ज) बमोजिमको कसुर गरेको उल्लेख छ। बम्जनलाई सोही ऐनको दफा ७२ को उपदफा (३) (छ) मा परिभाषित मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (ग) अनुसार सजाय माग गरिएको छ।

नुवाकोट, बारा र मकवानपुरका बम्जनका चार अनुयायीहरु बेपत्ता छन्। बम्जनले बेपत्ता बनाएका भनिएका उनीहरूको अहिलेसम्म कुनै अत्तोपत्तो छैन।

नुवाकोटको मेघाङ गाउँपालिका ३ कि २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ सिन्धुपाल्चोकको बाडेगाउँबाट बेपत्ता भएकी हुन्। २०६९ असोजबाट सम्पर्कबिहीन भएकी उनको अझै खुटखबर छैन।

बाराको सिमरा उपमहानगरपालिका १५ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले पनि बेपत्ता भएको ५ वर्ष भइसक्यो। निजगढ १२ खुमजोरस्थित बम्जनको आश्रमबाट बेपत्ता भएका आले २०७२ जेठयता सम्पर्कमा छैनन्।

यो पनिः
जंगलभित्र बम्जनको छुट्टै राज, जहाँ प्रहरीलाई ‘राक्षस’ मानिन्छ (अप्रेसनः भिडियो)
सुत्ने कोठामै पुग्दा पनि प्रहरी किन असफल भयो ‘तपस्वी’ बम्जनलाई समात्न?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .