ad ad

समाज


सपना भन्छिन्: विनयले नराम्रो व्यवहार गरेपछि उनको संस्था छाडेँ

सपना भन्छिन्: विनयले नराम्रो व्यवहार गरेपछि उनको संस्था छाडेँ

उजिर कार्की
फागुन ४, २०७७ मंगलबार १५:३९,

‘अब तिमी यहाँ नआउनू,’ कात्तिक ३ गते घर जान लाग्दा विनयजंग बस्नेतले सपना रोका मगरलाई भने।

सपना बुबाआमासँग घर फर्किन लागेकी थिइन्। बुबाआमा पनि काठमाडौं आएका थिए त्यतिबेला। उनीहरु छोरी लिएर म्याग्दीस्थित घर जान लाग्दा विनयसँग बिदा माग्न गएका थिए।

सपनाका बुबाआमालाई पनि विनयले त्यसै भने, ‘अब तपाईंकी छोरी यहाँ नपठाइदिनु होला।’

विनयको नेतृत्वमा रहेको बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा काम गर्थिन् सपना। उनी विनयलाई बुबा भन्थिन्। विनयले पनि छोरी नै भनेर चिनाउँथे।

तर, विनयले दुर्व्यवहार गरेको र त्यो आफूलाई चित्त नबुझेको उनको भनाइ छ।

‘पहिलेदेखि नै उनले नराम्रो व्यवहार गरिरहेका थिए। मलाई चित्त बुझिरहेको थिएन। अनि मैले घर जान्छु भनेँ। त्यसो हो भने नफर्की भने,’ सपनाले भनिन्।

त्यसपछि सपनाले विनयको साथ छाडिन्। केही समय सपना गाउँमै बसिन्। दशैँतिहार उतै मानिन्।

विनयको संस्थाबाट अलग भएपछि सपनाले शव व्यवस्थापनको काम गर्न पाएकी थिइनन्।

तर, मंसिर ८ गते राति बीबीसीले विश्वका १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्‍यो। जसमा १८ वर्षीया सपना पनि समेटिइन्। सडकबाट उठेर बेवारिसे शव व्यवस्थापनमा लाग्दा पाएको उक्त खुसीले सपनालाई यो कामबाट अलग हुन दिएन।

तर, विनयको समूहसँग अलग भइसकेकाले सपनाले आफ्नै संस्था स्थापनाका लागि पहल थालिन्। उनी काठमाडौँ आइन् र माघ १९ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सपनाको आफ्नै संस्था दर्ता भयो। ‘सपनाको चाहना, समृद्ध नेपाल’ नामक संस्था दर्ता भयो। संस्था दर्ता भएको भोलिपल्टै नेपालगन्ज पुगेर उनले एउटा बेवारिसे शव व्यवस्थापन गरिन्।

अब आफ्नै नेतृत्वको संस्था मार्फत बेवारिसे शव व्यवस्थापनको काममा सक्रिय रहने उनले नेपालखबरलाई बताइन्।

‘आफ्नै संस्था दर्ता भएसँगै अब काम गर्ने बाटो खुलेको छ। देशविदेशबाट सहयोग गरिरहनु भएको छ। अर्थमन्त्रीज्यूले शव व्यवस्थापनको लागि सहयोग गर्छु भन्नु भएको छ। हामी अब सक्रिय हुन्छौँ,’ मंगलबार उनले योजना सुनाइन्।

आफ्नो संस्थाको शाखा जिल्लाजिल्लामा विस्तार गर्ने योजना पनि रहेको उनले बताइन्।

‘जुन कामले मेरो परिचय बदलियो, अब यो कामबाट अलग हुने कुरै छैन, झन् व्यवस्थित र सक्रिय भएर काम गर्ने हो,’ सपनाले भनिन्, ‘सरकारी निकायसँग पनि छलफल गरेर थप प्रभावकारी बनाउने योजना छ।’

विनयको संस्थाबाट अलग भएपनि सपना आफ्नो यो क्षेत्रको प्रगतिको श्रेय उनलाई नै दिन्छिन्।

‘म उनको बारेमा केही पनि नराम्रो बोल्दिनँ, मन त मेरो पनि दुखेको छ। उनकै सहयोगमा यहाँसम्म आएँ। तर हिजो मरेर आएको मान्छेलाई फेरि किन यसरी मार्न खोजे?’ सपनाले प्रश्न गरिन्।

सपनालाई गालीगलौज गरेको विषयमा काठमाडौं प्रहरी परिसरमा विनयविरुद्ध जाहेरी दर्ता भएको छ। मंगलबार प्रहरीले विनयलाई पक्राउ पनि गरिसकेको छ।

सपनाविरुद्ध विनयले युट्युबमा अश्लील शब्द प्रयोग गर्दै गाली गरेका थिए। सपनाको जाहेरीमा विनयले फेसबुक दुरुपयोग गरेर आफ्नो चरित्रहत्या गरेको उल्लेख छ।

फेसबुकमा लेखेको विषयमा माघ २१ गते बेलुका ६ बजे पशुपति क्षेत्रको सार्वजनिक सडकमा भेट भएको र त्यहाँ यस्तो कार्य किन गर्नु भएको भन्दा उल्टै धम्क्याएको सपनाले जाहेरीमा उल्लेख गरेकी छन्।

‘सार्वजनिक बाटोमा मलाई घेरी विभिन्न अश्लील अपाच्य अपशब्द प्रयोग गर्दै गाली गलौज गरी ज्यान मार्नेसम्मको धाकधम्की दिई हातपात समेत गर्न आए,’ जाहेरीमा भनिएको छ, ‘विनयजंग बस्नेतलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा ११८ को उपदफा(२) अनुसार अभद्र व्यवहारको कसुरमा कारबाही र सजाय गरी पाऊँ।’

सोही मुद्दामा विनय पक्राउ परेपछि सपनाले न्याय पाउने र सत्यतथ्य बाहिर आउने आशा जागेको बताएकी छन्।

यो पनि:

सपना अर्थात् बेवारिसे शवका वारिस (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .