ad ad

समाज


भान्जाको अपहरण गरी एक करोड फिरौती माग्ने मामा यसरी परे पक्राउ

भान्जाको अपहरण गरी एक करोड फिरौती माग्ने मामा यसरी परे पक्राउ

शैलेन्द्र महतो
फागुन ९, २०७७ आइतबार ११:०,

जनकपुरमा आफ्नै ७ वर्षीय भान्जालाई अपहरण गरेको आरोपमा पक्राउ परेका मामालाई प्रहरीले सार्वजनिक गरेको छ।

महोत्तरीको पिपरा गाउँपालिका–७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–७ बस्दै आएका २० वर्षीय रामरतन भन्ने लक्ष्मेश्वर कुमार दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

धनुषाको नगइराइन नगरपालिका–६ स्थित लग्माबाट ७ वर्षीय बालक चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वरले अपहरण गरेका थिए। प्रहरीले बालकलाई शनिबार साँझ ८ बजे जनकपुरधाम उपमहानगरपालिका–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए।

शनिबार साँझ ७ बजे बालकको आमालाई फोन गरि अपहरणकारी मामाले उनीसँग १ करोड रुपैयाँ फिरौती मागेपछि प्रहरी खोजीकार्यमा जुटेको थियो।बालकलाई अपहरणमुक्त गरे लगतै मामा लक्ष्मेश्वरलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक राणभाटले बताए।

उनका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको र घटनामा संलग्न रहेको आशंकाको आधारमा अन्य दुईजनालाई समेत पक्राउ गरि अनुसन्धान भइरहेको छ।

यसअघि आइतबार बिहान प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बालकको अपहरणमा उनका बुबा रमेश दासको पनि संलग्नता भएको बताएका थिए। रमेशले आफ्ना बुबा अर्थात बालकका बाजे हरिचन दाससँग पैसा लिनको लागि सालोसँग मिलेर छोरा चन्दनलाई अपहरणको नाटक गरेको डीइआइजी सिंहको भनाई थियो।

प्रहरीले बालकका बुबा रमेशलाई समेत पक्राउ गरी अनुसन्धन गरेको थियो। तर धनुषाका प्रहरी उपरीक्षक राणाभाटले अपहरणमा बुबाको संलग्नता नरहेको अनुसन्धानबाट देखिएको बताए।

मामा लक्ष्मेश्वरलाई पक्राउ गरेको बेला बुबा रमेश पनि त्यही भएकाले उनीमाथि अपहरणको शंका गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .