ad ad

समाज


कञ्चनपुरमा तीन वर्षमा १ सय २४ बलात्कार!

कञ्चनपुरमा तीन वर्षमा १ सय २४ बलात्कार!

गोकुल जोशी
साउन २५, २०७६ शनिबार १२:२,

कञ्चनपुरमा पछिल्लो समय बलात्कारका घटना दिनप्रतिदिन बढ्दै गएका छन्। तुलनात्मक रुपमा पछिल्ला केही वर्षमा बलात्कारका घटना ह्वात्तै बढेपछि महिला तथा बालबालिकाका क्षेत्रमा चुनौती थपिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार बलात्कारका घटना बढ्दै गएको देखिएको हो।

बलात्कारका घटना बढ्दै गएपछि नौ स्थानीय तह रहेको जिल्लामा सुरक्षा चुनौती थपिएको छ। आर्थिक वर्ष २०७४/०७५ को २६ असारमा घरबाट कापी–कलम किन्न हिँडेकी कृष्णपुर नगरपालिका– ८ रैकवार बिचुवाकी १७ वर्षीया किशोरी कविता विष्टलाई बलात्कारपछि हत्या गरेर बालुवामा फालिएको अवस्थामा शव पाइएको थियो।

कविताको बलात्कारपछि हत्या भएको दुई सातामै गत १० साउनमा भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको थियो। निर्मला बलात्कार प्रकरण त अझैसम्म टुंगोमा पुग्नसकेको छैन। दोषीबारे केही पत्ता नलाग्दा निर्मलाले हालसम्म पनि न्याय पाउनसकेकी छैनन्। तीन वर्षको तुलनामा कञ्चनपुरमा बालिका, किशोरी र महिलामाथि हुने बलात्कार तथा हत्याका घटना बढ्दै गएका छन्।

यसअघि अधिकांश महिलामाथि हुने बलात्कार एवं यौनजन्य हिंसाका घटना मात्रै हुने गरेका थिए। पछिल्लो वर्षदिनयता बलात्कारसँगै हत्याका घटना पनि बढ्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७३/०७४ मा जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका १६ गरी जम्मा ३३ मुद्दा दर्ता भएका थिए। यस्तै आर्थिक वर्ष २०७४/०७५ मा जबर्जस्ती करणीका १८ र जबर्जस्ती करणी उद्योगका १५ गरी जम्मा ३३ मुद्दा दर्ता भएका थिए । तर यो दर भने आर्थिक वर्ष २०७५/०७६ मा दोब्बरले बढेको छ।

आर्थिक वर्ष २०७५÷०७६ मा जबर्जस्ती करणीका ३४, जबर्जस्ती करणी उद्योगका २२ र शरीर बन्धक जबर्जस्ती करणीका दुई गरी जम्मा ५८ मुद्दा दर्ता भएका छन्। जुन आर्थिक वर्ष २०७४/०७५ भन्दा झण्डै दोब्बर हो। जबर्जस्ती करणीका घटना हिजोका दिनमा लुकाउने गरे पनि पछिल्लो समय प्रहरीलाई सूचना दिने प्रवृत्तिका कारण यस्ता घटनामा वृद्धि आएको कञ्चनपुरका डीएसपी गणेश बहादुर बम बताउँछन्।

आफूले चिनेका व्यक्ति, आफ्नो नाता सम्बन्ध र छरछिमेकका व्यक्तिबाट धेरै जबर्जस्ती करणीका घटना हुने गरेको उनी बताउँछन्। ‘हिजो विश्वास गरेका व्यक्ति, नाता र छरछिमेक आज अविश्वासमा परिणत भएको छ’, उनले भने, ‘सामाजिक सञ्जाल र प्रविधिको प्रयोगबाट यस्ता घटना बढेकोे उनको भनाइ छ । बालिका तथा वृद्ध महिला समेत बलात्कारको शिकार बन्न पुगेका छन्।

बलात्कारका घटना दिनप्रतिदिन बढ्नुमा सामाजिक चेतना, सामाजिक मान्यता, जनसांख्यिक विवरण, आर्थिक अवस्था, सुरक्षा व्यवस्था, आपराधिक मनस्थिति, पुरुषप्रधान समाज, प्रहरी तथा कानुनी निकायको अक्षमता, सामाजिक सञ्जालको दुरुपयोग, मोबाइल तथा कम्प्युटर तथा इन्टरनेटको दुरुपयोग प्रमुख कारणहरू रहेको अधिकारकर्मीहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .