नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले काठमाडौँबाट केही दिनपहिले बरामद युरेनियमबारे थप तथ्य पत्ता लगाउन अन्यत्र परीक्षण गर्न सिफारिस गरेको छ।
आइतबार दोश्रो पटक परीक्षण गरेर रेडियोधर्मी भएको पुष्टि गर्दै नास्टले प्रहरीलाई रिपोर्ट बुझाएको छ। तर, बरामद पदार्थमा युरेनियमको मात्रा कति छ भन्ने पत्ता लगाउन अर्कै प्रविधिबाट परीक्षण आवश्यक रहेको नास्टले जनाएको हो।
देशका अन्य प्रयोगशालामा हुने भए त्यहाँ र नभए विदेश लगेर पनि परीक्षण गर्नु पर्ने सिफारिसमा उल्लेख छ। विदेशमा भारत वा चीन लैजान सकिने नास्टले जनाएको छ। नेपालमा युरोनियमको परीक्षण गर्ने प्रयोगशाला भएको विज्ञहरुले बताएका छन्।
प्रहरीले १० दिनअघि पहिलो पटक र तीन दिनअघि दोश्रो पटक युरेनियम परीक्षणका लागि नास्टमा नमुना पठाएको थियो। नास्टले युरेनियम भएको बताएपछि प्रहरीले उक्त पदार्थ बरामद गर्दै संलग्न चार जनालाई पक्राउ गरेको छ।
उनीहरुविरुद्ध विस्फोटक पदार्थसम्बन्धी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।
उपकरण नभएकाले स्पष्ट रिपोर्ट दिन नसकेको नास्टका वरिष्ठ प्राविधिक अधिकृत तथा प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले बताए।
परीक्षणमा युरेनियम भएको पुष्टि भएपनि त्यहाँ कति मात्रामा युरेनियम छ भन्ने पुष्टि नभएको ढुंगेलले नेपालखबरलाई बताए।
‘दुई पटक नमुना परीक्षण गर्दा त्यसमा ‘युरेनियम २३८’ रहेको हाम्रो निष्कर्ष छ,’ प्रवक्ता ढुंगेलले भने, ‘सबै युरेनियम हो कि होइन भन्नेचाहिँ निश्चित छैन। तर केही प्रतिशत युरेनियम देखियो।’
प्रहरीले बरामद गरेको पदार्थ धुलो छ। अप्रशोधित युरोनियम हुन सक्ने नास्टको अनुमान छ।
‘रेडियोकेमेस्ट्री (रेडियोधर्मी पदार्थको विषयमा अध्ययन गर्ने विषय)ले रेडियोधर्मी वस्तुहरुको असली पहिचान गर्ने ठ्याक्कै रसायन विश्लेषण गर्ने उपकरण हामीसँग छैन। हामीसँग विकिरणयुक्त नमुना हो कि होइन, विकिरणयुक्त हो भने त्यहाँबाट कस्तो विकिरण उत्सर्जन भइरहेको छ भन्ने मापन गर्ने यन्त्र मात्र छ,’ ढुंगेलले भने।
कस्तो–कस्तो पदार्थबाट कस्तो–कस्तो विकिरण आउँछ भन्ने अध्ययनबाट यसमा युरेनियम २३८ रहेको निष्कर्ष निकालिएको उनले बताए। युरेनियमको परिमाण पत्ता लगाउन रासायनिक विश्लेषणहरु गर्नुपर्ने र त्यसका लागि उपकरण नभएको उनको भनाइ छ।
प्रहरीले बरामद गरेको वस्तु वातावरणीय र जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित भण्डारण गर्नुपर्ने सुझवा पनि नास्टले दिएको छ।
‘यो खुल्ला रुपमा ओसारपसार गर्न मिल्ने चिज होइन। नेपालमा कुनै हिसाबले प्रयोग गर्ने देखिँदैन। खुल्ला रुपमा बोक्दा वातावरण र स्वास्थ्यलाई असर गर्छ,’ प्रवक्ता ढुंगेलले भने।
२० वर्ष पहिले अम्बर लामाले भारतमा खानीमा काम गरेर फर्किंदा ल्याएको बताइए पनि थप पुष्टि हुन सकेको छैन। अम्बरकी बुहारीसहित ४ जनालाई प्रहरीले प्रक्राउ गरिसकेको छ। उनीहरुमाथि अनुसन्धान भइरहेकाले यी सबै विषय खुल्दै जाने काठमाडौँ प्रहरी परिसर प्रमुख सिंह बताउँछन्।
नेपालमा युरेनियमको खपत समेत नरहेकाले विदेशबाट यहाँ ल्याउनु पर्ने कारण नरहेको सुरक्षा अधिकारीहरु बताउँछन्। बहुमुल्य र खतरनाक वस्तु २० वर्षसम्म कसरी लुकाइयो भन्ने कुराको पनि जवाफ प्रहरीले खोजिरहेको जनाएको छ।
अब नेपालमै थप परीक्षण गर्नु परे खानी तथा भूगर्भ विभागले परीक्षण गर्न सक्नेछ। आईसीटीएनएस नामक उपकरण नेपाल कृषि अनुसन्धान परिषद् र खाद्य तथा गुण नियन्त्रण मापन केन्द्रमा पनि छ। तर रेडियोधर्मी पदार्थ चेकजाँचपछि र पुनः अन्य परीक्षणका लागि प्रयोग राम्रो नहुने भएकाले परीक्षण नहुन सक्छ।
‘बृहत अनुसन्धान गर्दा नास्टको टोली र विश्वविद्यालयका वैज्ञानिकहरु पनि समावेश गरेर अरु अनुसन्धानका पाटासँगै वैज्ञानिक दृष्टिकोणले परिमाण तोक्नु राम्रो हुन्छ,’ नास्टले भनेको छ।
नेपालमा बरामद भएको युरेनियमको परिमाण र गुणस्तर नै खुलिनसकेकाले प्रहरीले बरामद गरेको पदार्थको मुल्य यकिन नभएको प्रवक्ता ढुंगेलले बताए।
तर, शुद्ध युरेनियम २३५ को मूल्य भने प्रतिकेजी २० करोड ९ लाख अमेरिकी डलर पर्ने अमेरिकी उर्जा मन्त्रालयको वेबसाइटमा उल्लेख छ। बौद्धबाट बरामद भएको पदार्थ करिब साढे २ केजी रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया