ad ad

समाज


युरेनियम बेच्न लागेकी जानुका भन्छिन्: किन्छौँ भनेका ग्राहकले नै पेस्तोल ताकेर हतकडी लगाए

युरेनियम बेच्न लागेकी जानुका भन्छिन्: किन्छौँ भनेका ग्राहकले नै पेस्तोल ताकेर हतकडी लगाए

उजिर कार्की
चैत ३, २०७७ मंगलबार १४:४२,

प्रहरीले गत बिहीबार साढे २ किलो अप्रशोधित युरेनियमसहित पक्राउ गरेका चारजनाको सरकारी वकिल कार्यालयमा बयान चलिरहेको छ।

बौद्धकी जानुका तामाङलगायत चार जनालाई गत बिहीबार महानगरीय प्रहरी कार्यालयले सातदोबाटोबाट पक्राउ गरेको थियो। पुरानो घर रामेछाप भई बौद्ध बस्ने जानुका तामाङ, रामेछापकै नारायणसिंह तामाङ, प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपाने पक्राउ परेका छन्।

उनीहरुले युरेनियम बेचबिखन गर्न लागेको भन्दै पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ।

प्रहरीले बरामद गरेको वस्तु अप्रशोधित युरेनियम भएको पुष्टि गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विस्तृत तथ्यका लागि अन्यत्र परीक्षण गर्न सिफारिस गरेको छ। यससँगै नाष्टले उक्त वस्तु जोखिमपूर्ण रहेकाले सुरक्षित रुपमा राख्न पनि भनेको छ।

तर युरेनियम बेच्न लागेकी जानुकाले भने सो वस्तु के हो र यसको जोखिम कस्तो हुन्छ भन्नेबारे आफूलाई थाहै नभएको बताएकी छन्। श्रोतका अनुसार जानुकाले प्रहरीलाई पुरानो र बहुमुल्य वस्तु हो भने पनि युरेनियम हो भनेर ससुरा अम्बरले नभनेको बताइन्।

आफूले हातैले झिकेर बट्टामा आधा लगाएर बाँकी घरमै राखेको जानुकाको भनाइ छ।

२०५६ सालमा उनी विवाह गरेर सो घरमा आउनुअघि नै सो वस्तु त्यहाँ भएको उनको दाबी छ।

‘यदि उनीहरुलाई पहिल्यै थाहा थियो भने यत्तिका वर्षसम्म त्यत्तिकै नराख्नु पर्ने हो,’ काठमाडौँ प्रहरी परिसरका अनुसन्धान अधिकारी भन्छन्।

पुरानो र बहुमुल्य सामान हो भन्दै घरमै राखेको सामान नारायणसिंहले भनेपछि बेच्न लागेको जानुकाले बताइन्। रामेछापकै देवर नाता पर्ने नारायणसिंहले यो पुरातात्विक र बहुमूल्य भएको बताएका थिए।

उनीहरुबीच बेच्ने सल्लाह भएपछि रामेछाप गएका नारायणसिंहले त्यहाँबाट फर्किएपछि थोरै धुलो लिएर गएका थिए।

‘धेरै पैसा आउन सक्छ भन्दै नारायणसिंहले बट्टामा थोरै लिएर गएका थिए’, श्रोतले जानुको बयान उधृत गर्दै भन्यो, ‘मैले हातैले बट्टामा राखिदिएकी थिएँ।’

त्यसपछि बाँकी ग्राहक खोज्ने र साथी जुटाउने काम पनि नारायणसिंहले नै गरेका थिए। रामेछापकै प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपाने पनि उनीहरुसँग जोडिएका थिए। उनीहरु भने उक्त पदार्थ किन्ने मान्छे जुटाएवापत २÷२ करोड रुपैयाँ पाउने सर्तमा आएको प्रहरीले बताएको छ।

‘बिहीबार बिक्री हुने भयो भन्दै नारायणसिंह मेरो घरमा आइपुगे। बट्टामा हालेर लग्यौँ। आधा जति घरमै थियो,’ जानुकाले भनिन्।

नारायणसिंहको मोटरसाइकलको पछाडि बसेर जानुका सातदोबाटो पुगिन्। प्रकाश र मनोजका साथ अरु ग्राहक भनिएका व्यक्तिहरु पनि त्यहीँ थिए।

‘त्यहाँ किन्ने मान्छे छन् भनेर लगिएको थियो। तर ती व्यक्तिले त पेस्तोल ताक्दै हतकडी लगाएर गाडीमा हाले,’ जानुका भन्छिन्, ‘प्रहरी कार्यालय पु¥याएपछि बल्ल ढुक्क भयो, उनीहरु त प्रहरी रहेछन्।’

ग्राहक बनेर प्रहरी उनीहरुलाई पक्राउ गर्न त्यहाँ पुगेका थिए। पक्राउपछि उनीहरुलाई महानगरीय प्रहरी कार्यालयमा लगेर सोधपुछ गरियो।

‘यो के हो भन्ने मलाई थाहा छैन, बहुमूल्य हो भन्ने सुनेको हो अरु कुरा थाहा छैन,’ जानुकाले भनिन्।

त्यसपछि उनले घरमा अझै बाँकी रहेको जानकारी दिइन्। जानुकालाई लिएर प्रहरी बौद्धस्थित उनको घरमा गयो र बाँकी पदार्थ लिएर आयो।

तर, युरेनियमको जोखिमबारे भने प्रहरी पनि सचेत भएन। युरेनियम २३८ भएको नास्टबाट पहिलो चरणको रिपोर्ट पाइसकेको थियो। तर, शुक्रबार पक्राउ परेका व्यक्ति सार्वजनिक गर्दा प्रहरीले सो पदार्थ खुल्लै राखेको थियो।

युरेनियम खुल्ला रुपमा राख्दा स्वास्थ्य र वातावरणमा नकरात्मक असर पुग्ने नास्टका प्रवक्ता डा. सुरेन्द्रकुमार ढुंगेलले बताए।

यो पनि:

युरेनियम नेपाल ल्याउने व्यक्ति अमेरिकामा, बेचिदिनेलाई २/२ करोड कमिसनको प्रलोभन

युरेनियमको मात्रा पत्ता लगाउन नसकेपछि नास्टले भन्योः अन्यत्रै परीक्षण गरौँ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .