ad ad

समाज


बेपत्ता भएको एक महिनापछि गाडेको अवस्थामा भेटियो झा दम्पतीको शव

बेपत्ता भएको एक महिनापछि गाडेको अवस्थामा भेटियो झा दम्पतीको शव

शैलेन्द्र महतो
चैत १२, २०७७ बिहिबार ९:३६,

ओछ्यानसहित बेपत्ता भएको एकमहिनापछि महोत्तरीको पीपराका झा दम्पतीको हत्या भएर गाडेको अवस्थामा शव फेला परेको छ।

दुवै जनाको शव गाडेको अवस्थामा पिपरा गाउँपालिकाको वडा नं.२ स्थित अतरा जाने बाटोमा बिहीबार फेला परेको हो।

गएको फागुन ११ गते राति पीपरा गाउँपालिका–५ सहोडकाबाट ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएका थिए।

व्यापक खोजतलासको क्रममा झा दम्पतिको शव निर्माणधिन सडकमै गाडेको अवस्थामा फेला परको हो। कंकाल भेटिएकै ठाउँमा झा दम्पतीकाे लुगाफाटाे लगायतका सामानहरुसमेत भेटिएकाे छ।

पीपरा बजारबाट अतरा जाने बाटोको डाईभर्सन भएको ठाउँमा शव भेटिएको प्रहरीले जनाएकाे छ। सडक निर्माण अन्तर्गत दोस्राे चरणमा माटो बिछ्याउने क्रममा माटोले पुरिएको अवस्थामा दुवै जनाको शव एकै ठाउँमा गाडेको अवस्थामा भेटिएको हो।

jha-dampati-3-poka.jpg

प्रहरीले शव उत्खनन गरी पोस्टमार्टमका लागि लग्ने तयारी गरको छ। झा दम्पतिकै जस्तै शव देखिएपनि अनुसन्धान र पोस्टमार्टम पश्चात मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बेपत्ता पारेको आशंकामा केही दिन अघि ३ छिमेकीसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको थियो। 

प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो। उनीहरु जग्गा व्यवसायी हुन् ।

बेपत्ता भएको केही दिन पश्चात् एक पोखरीमा दम्पतीले प्रयोग गर्ने झुल फेला परेपछि प्रहरीले महोत्तरी र धनुषाको ५० वटा भन्दा बढी पोखरीमा झाल फालेर र डुंगाबाट खोजी गरेको थियो। यस्तै नयाँ माटो पुरेको तथा झाडीहरुमा खोजविन गरेको थियो। पछिल्लो समय सीआईबीको टोलीले बेपत्ता झा दम्पती घटनाको अनुसन्धान गरिरहेकाे थियो।

याे पनि : झा दम्पती बेपत्ता प्रकरण : जग्गा बेच्न नमान्दा अपहरण, एक भारतीयसहित चारजना पक्राउ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .