नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउने र लकडाउन हुन सक्ने हल्ला चलिरहेका बेला जनस्वाथ्यविद् डा. रवीन्द्र पाण्डेले आफ्ना सल्लाह/सुझाव सार्वजनिक गरेका छन्।
महामारीको दोस्रो लहर, लकडाउन तथा खोपलगायत कोरोनासँग सम्बन्धित विभिन्न जिज्ञासाबारे डा. पाण्डेले यसो भनेका छन् :
१. लकडाउनबारे
–लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ। यो सही हैन। सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन। संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुन सक्छ। पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन। हामीले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्यौँ भने लकडाउन गर्ने परिस्थिति आउँदैन।
२. खोपबारे
–यही सोमबार चीनबाट ८ लाख डोज खोप आउँदै छ। त्यसले करिब ४ लाख जोखिम वर्गलाई खोप पुग्छ। भारतले अप्रिलमा १० लाख डोज (नेपालले किनेको बाँकी) दिने जानकारी दिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। यो खोपका कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्छ।
३. दोस्रो मात्राबारे
–दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यही कम्पनीको लगाउनुपर्छ। कारणवश दोस्रो मात्रा खोप लगाउन नपाए पनि पहिलो खोपको प्रभावकारिता न्यूनतम ६४.१ प्रतिशत हुने एस्ट्रेजेनेकाले बताएको छ। दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०.४ प्रतिशत हुन्छ।
–बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धानअनुसार ९–१२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० प्रतिशतले कम हुन्छ।
४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन?
–खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ। उक्त व्यक्तिले आफू क्यारियर बनेर अरूलाई संक्रमण सार्न पनि सक्छ। फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर बिरामी हुँदैनन्। खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्छ। खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुन सक्छ। यो बुझ्न र बुझाउन जरुरी छ।
५. दोस्रो लहरको क्षति अनुमान
दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुँदैन। त्यो बेला हामीसँग साधन (मास्क, स्यानिटाइजर, पीपीई, रेम्डेसिभिरलगायत औषधि) को अभाव थियो। अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन्। आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएका छन्। खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रत्यक्ष छ। मास्कलगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ। खोप आइरहनेछ। तसर्थ क्षति निकै कम हुन्छ।
–महामारी तथा प्राकृतिक विपत्तिका बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तव्य हो भने जनधन सुरक्षा गर्नु राज्यको दायित्व हो। कर्तव्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन।
प्रतिक्रिया