ad ad

समाज


इतिहासविद् दासको निधन

इतिहासविद् दासको निधन

नेपालखबर
साउन २८, २०७६ मंगलबार ३:२३,

इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा निधन भएको छ।

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख सहप्राध्यापक दासको सप्तरीको राजविराजस्थित आफ्नै निवासमा निधन भएको उहाँका भाइ प्राध्यापक जुगेश्वरलाल दासले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरी अवकाश जीवनयापन गर्दै आएका दास विगत केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट ग्रसित थिए।

श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा विसं २०७४ वैशाख २७ गते इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मानले सम्मानित दासलाई संस्कृति क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत २०७४ पुस ११ गते १५औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनमा मिथिला रत्न उपाधिबाट सम्मानित गरिएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट विसं २०४८ मा सम्मानित दास युनिभर्सल पिस फेडरेशनबाट सन् २०१५ मा शान्तिदूत र मैथिली साहित्य परिषद्बाट विसं २०६९ मा शिवदत्त स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए।

गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन गरेवापत दासलाई एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको उनका भाइ जुगेश्वरलाल दासले बताए।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट विसं २०६० मा दासको ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरुः एक अध्ययन’ र साझा प्रकाशनबाट विसं २०६७ मा ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’ नामक पुस्तक प्रकाशित छन्।

ऐतिहासिक गढीहरुका अतिरिक्त प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा दासको अध्ययन अनुसन्धान तथा शोधहरु पूर्णिमा, वाणी, आँगनलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित छन्। उनले कक्षा १० को मैथिली विषयको पाठ्यपुस्तकमा ‘प्राचीन विदेह’ पाठ समावेश गरिएको छ।

सप्तरीका साथै मिथिला क्षेत्रको धार्मिक, ऐतिहासिक एवं प्राचीन इतिहासबारे गहन अध्ययन अनुसन्धान गरेका उनले विसं २०५८ मा पहिलो कृतिको रूपमा ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिकस्थलहरु’ लगायत आधा दर्जन पुस्तक प्रकाशित छन्।

पिता जयनारायणलाल दास ‘बच्चाबाबु’ र आमा अनसुया देवीको कोखबाट सन् १९४१ नोभेम्वर १४ का दिन सप्तरीको साविक मलेठ गाउँ विकास समितिको ६ स्थित गढीयागाउँमा जन्मिएका इतिहासविद् दासको श्रीमती विद्यादेवी दास, दुई छोरी अर्चना, अञ्जली र एक छोरा सन्दीप छन्।

दासको अन्तिम संस्कार पैतृकगाउँ गढियामा मंगलबारै गरिने उहाँकी श्रीमती विद्यादेवीले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .