ad ad

समाज


दिलीपको हत्यामा जोडिएको क्रसर सञ्चालन गर्न उच्च अदालतको आदेश

दिलीपको हत्यामा जोडिएको क्रसर सञ्चालन गर्न उच्च अदालतको आदेश

शैलेन्द्र महतो
बैशाख १, २०७८ बुधबार १२:४५,

पर्यावरण अभियन्ता दिलीप महतो हत्याकाण्ड मुद्दाको किनारा नलाग्दै उनको हत्या भएको क्रसर सञ्चालन गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ।

धनुषाको मिथिला नगरपालिका ५ स्थित चुरियामाई बालुवा प्रशोधन उद्योगलाई सञ्चालन गर्न उच्च अदालतले मंगलबार आदेश दिएको हो।

सो क्रसरमा २५ पुस २०७६ मा स्थानीय पर्यावरण अभियन्ता २४ वर्षीय ओमप्रकाश भनिने दिलीप महतोको निर्मम तरिकाले हत्या भएको थियो। दिलीप हत्याको मुख्य अभियुक्त क्रसर सञ्चालक विपीन महतोसहित ३ जना अहिले पूर्वपक्षको लागि थुनामा छन् भने चारजना धरौटी तिरेर साधारण तारेखमा रिहा भएका छन्।

मुद्दाको किनारा नलाग्दै गम्भीर प्रकृतिको अपराध भएको सो क्रसर सञ्चालन गर्न उच्च अदालतले आदेश दिएपछि परिवारजनसहित स्थानीय चकित भएका छन्। उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ घिमिरे र रमेश ढकालको संयुक्त इजलासले क्रसर सञ्चालनमा कुनै अवरोध नगर्न आदेश दिएको हो।

अदालतले कागजात अनुसार क्रसर कानुन बमोजिम नै देखिएको र मापदण्डको पालन वा अन्य त्रुटि रहेको खण्डमा अधिकार प्राप्त निकाय प्रशासन र स्थानीय तहले अनुगमन गरी कानुन बमोजिम बन्द गराउनु पर्नेबाहेक बाहिर कुनैपनि हस्तक्षेप नगर्न, नगराउन विपक्षीको नाममा दिएकाे अन्तरिम आदेशमा भनेकाे छ।

दिलीप हत्याका मुख्य अभियुक्त क्रसर सञ्चालक विपीनका भाई विनोद कुमार महतोले दायर गरेको रिट उपर सुनुवाई गर्दै उच्च अदालते यस्तो आदेश जारी गरेको हो।

उक्त क्रसरमा दिलीपको हत्या भएपछि बन्द अवस्थामा छ। थुप्रैपटक सञ्चालन गर्ने प्रयास गरेपनि दिलीपका परिवारले दोषीमाथि कडा कारबाही र न्याय नपाएसम्म क्रसर सञ्चलन गर्न नदिने अडानमा रहेका थिए।

पछिल्लो पटक अभियुक्त विपीनका भाइ विनोदले मृतक दिलीपका बुबा रामजीवन महतोलाई विपक्षी बनाइ क्रसर सञ्चालन गर्न पाउँ भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतले क्रसर कानुन बमोजिम नै देखिएको र मापदण्ड पालना गरेकाले सञ्चालनमा कुनै प्रकारको अवरोध र हस्तक्षेप नगर्न नगराउन विपक्षीको नाममा अन्तरिम आदेश दिएको हो।

पर्यावरण अभियन्ता दिलीप घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न सो क्रसरमा लिभरले कोखमा प्रहार गरी टिपरले किचेर हत्या गरिएको थियो।

अदालले क्रसर सञ्चालन गर्न आदेश दिएपछि दिलीपका परिवार चिन्तित भएका छन्। दिलीपकी बहिनी लक्ष्मी महतोले आफ्नो दाई र परिवारमाथि थप अन्याय भएको गुनासो गरेकी छन्।

‘दाईले अझैसम्म न्याय पाउनु भएको छैन। दोषीहरुमाथि कारबाही भएको छैन। तर दाइको निर्मम तरिकाले हत्या भएको सो क्रसर सञ्चालन गर्न उच्च अदालले यस्तो आदेश कसरी दियो?’ उनले भनिन् ‘यो आदेशले हाम्रो परिवारमाथि थप बज्रपात भएको छ। अपराधीको मनोबल झनै बढ्छ। हामीलाई पनि बाँच्नै गह्रो भयो।’

अवैध उत्खनन् रोक्न गएका दिलीपलाई कुटपिट गरी हत्या गरिएको खुलासा

दिलीप महतोको हत्या भएको क्रसर सञ्चालनमा आउँदै, प्रशासन अनभिज्ञ

dilip1.jpg

dlip2.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .