नेपाली सेनाले आफ्नो सांगठनिक संरचना परिवर्तन गर्ने भएको छ। हाल पृतनामा आधारित नेपाली सेनाको संरचना कमान्डमा बदल्न लागिएको हो।
अहिलेको संरचना प्रशासनिक खालको भएकाले नेपालको भूगोल सुहाउँदो कमान्ड स्थापना गर्न लागिएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। साउनदेखि ८ वटै पृतना खारेज गरेर नेपाली सेनाका ४ वटा कमान्डमा चल्नेछ।
यसअघि जंगी अड्डाले गर्दै आएका जिम्मेवारी समेत कमान्डलाई दिइनेछ। जंगी अड्डालाई रणनीतिक योजनामा केन्द्रित गर्ने सेनाको योजना छ। उपत्यकाबाहेकका सबै कमान्डको सीमा भारत र चीनसँग जोडिएका छन्।
अब सेनाका पूर्वी कमान्ड, मध्य कमान्ड, पश्चिम कमान्ड र उपत्यका कमान्ड रहनेछन्। यसअघि हरेक प्रदेशमा एक एक वटा पृतना र उपत्यकामा एउटा गरी ८ वटा पृतना थिए। अब बन्ने सबै कमान्डलाई समान श्रोतसाधन उपलब्ध गराइनेछ। हरेक कमान्डमा एयर बेस, लजिस्टिक बेस र अस्पताल रहनेछन्।
सेनाले नदीलाई आधार बनाएर कमान्ड विभाजन गरेको छ।
उपत्यका रणनीतिक महत्वको भएकाले छुट्टै कमान्डमा रहने छ। पूर्वी कमान्ड कोसी, मध्य कमान्ड गण्डकी र पश्चिम कमान्ड कर्णाली नदीमा आधारित रहने प्रवक्ता पौडेलले बताए।
पश्चिम कमान्डमा कर्णाली प्रदेश, सूदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही क्षेत्र समेटिएको छ। गण्डकी, लुम्बिनी र बागमतीका केही क्षेत्र मध्य कमान्डमा रहनेछन्। पूर्वी कमान्डमा प्रदेश नं १, प्रदेश नं २ र बागमतीका केही भाग रहनेछन्।
पश्चिम कमान्डको एयरबेस सुर्खेतमा रहनेछ। त्यो क्षेत्रका लागि हवाई साधनहरु त्यहीँबाट परिचालन गरिने सेनाले जनाएको छ। बाँकेमा लजिस्टिक बेस र नेपालगन्जमा सैनिक अस्पताल हुनेछ। विपद् व्यवस्थापन र वन्यजन्तु संरक्षणका युनिट पनि हरेक कमान्डमा राखिने भएको छ।
पूर्वी कमान्डको सैनिक अस्पताल इटहरीमा रहनेछ भने महोत्तरीको बर्दिबासमा लजिस्टिक बेस स्थापना भइरहेको छ। यो कमान्डको एयरबेस विराटनगरमा रहनेछ।
मध्य कमान्ड र उपत्यका कमान्डको हकमा एउटै स्थानबाट श्रोत परिचालन गर्ने गरी तयारी भइरहेको प्रवक्ता पौडेलले नेपालखबरलाई बताए।
हरेक कमान्ड हेडक्वार्टर उपरथीकै नेतृत्वमा रहनेछन्। अन्य दर्जामा अहिले रहेको सैनिक दरबन्दी कायम रहने भएपनि महासेनानी र प्रमुख सेनानी दर्जा बढाउने योजना रहेको जंगी अड्डाले जनाएको छ।
हाल सञ्चालित पृतनालाई कमान्डमा समायोजन गर्ने गरी विस्तृत खाका तयार भइरहेको सेनाको भनाइ छ। हरेक प्रदेशमा रहने बाहिनी हेडक्वार्टरले नै प्रदेशसँग संयोजन गर्नेछन्।
बाहिनीपति सहायक रथी रहनेछन्। कमान्डको नेतृत्व भने उपरथीले गर्नेछन्। बाहिनी कमान्ड हेडक्वार्टर अन्तर्गत रहनेछन्।
पहिले प्रदेशमा पनि पृतनाले संयोजन गर्दै आएको थियो। अब बाहिनीले आफ्नो प्रदेशको समन्वय गर्नेछन्। पृतनाहरु मर्ज हुने र कमान्डमा परिवर्तन हुनेछन्। नयाँ संरचनाले मुख्य रुपमा चेन अफ कमान्डलाई छरितो बनाउने प्रवक्ता पौडेलले बताए।
‘अहिले जंगी अड्डाको बढी संलग्नता छ। सेनामा ट्याक्टिकल, अपरेसनल र स्ट्राटेजिक तह हुन्छ। अब जंगी अड्डा अपरेसनल तहसम्म ओर्लिनु पर्ने अवस्था हुँदैन। बाहिनीले आफ्नो ट्याक्टिकल तहको पूर्ण रुपमा जिम्मेवारी लिन्छ। कमान्डले अपरेसनल तहको जिम्मेवारी लिएर आफ्नो योजना बनाउने र कार्यन्वयन गर्नेछ। जंगी अड्डा रणनीतिक विषयमा केन्द्रित हुन्छ’, पौडेलले भने।
जिल्लामा भने गण तथा गुल्महरु यथावत रहनेछन्।
Shares
प्रतिक्रिया