धनुषाको सिक्सलेन सडक छेउमा बोरामा राखेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित सिक्सलेन सडकको छेउमा रहेको आँप बगैँचामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो।
बोरामा राखेर माथिबाट बाँधेर फालेको अवस्थामा मंगलबार बिहान साढे १० बजेतिर शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव बोराबाट झिकेर हेर्दा झुण्डिएर मृत्यु भएको जस्तो घाँटीमा निलडाम देखिएको र शरीरमा अन्य कुनै डाम नदेखिएको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए। कसैले आत्महत्या गरेपछि वा हत्या नै गरेर फालेको आशंकामा अनुसन्धान भइरहेको उनले बताए।
घटनास्थलमा विशेष तालिम प्राप्त कुकुरबाट अनुसन्धान गरिएको छ। तर पानी परिरहेको कारण अनुसन्धानमा समस्या आएको डीएसपी मिश्रको भनाई छ।
कसैले राति नै बोरामा हालेर फालेको जस्तो शवको प्रकृति देखिएको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।
शव भेटिएको ठाउँ सिक्सलेन सडकको दुईसय मिटर पश्चिम रहेको आँपको बगैँचामा पर्छ।
प्रतिक्रिया