निषेधाज्ञाको समयमा बढी भाडा लिने ३३ जनालाई प्रक्राउ गरिएको छ।
ट्राफिक प्रहरी माहाशाखाका अनुसार माहामारीको समयमा अप्ठ्यारोमा परेका यात्रुसँग बढी भाडा लिनेलाई प्रक्राउ गरिएको हो।
महाशाखाले निषेधाज्ञा घोषणा पश्चात परिचालन गरेको ठगी बिरुद्धको विशेष अपरेसन टोलीले बिभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको जनाएको छ।
ठगी गर्नेहरु विरुद्धको अपरेसन टोलीले वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यका बाहिरी जिल्लाहरु जाने यात्रुसँग छ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीहरुको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ।
'निषेधाज्ञा पश्चात यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिने गिरोहलाई कारबाही गर्न छुट्टै डेडिकेटेड अपरेसन टोली परिचालन गरेका छौं, टोलीले काउण्टर तथा आसपासको क्षेत्रमा निगरानी गर्ने, यात्रुसँग गोप्य रुपमा बुझ्ने, यात्रु बनेर भाडा बार्गेनिङ गर्ने र ठगी गरेको पाइए पक्राउ गर्ने गरेका छौं,’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।
उनले गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तिब्रता दिँदै आएकाे बताउँदै बढी भाडा लिने जोसुकैलाई नियन्त्रणमा लिएको बताएका छन्।
उनले पछिल्लो समय काउन्टरका कर्मचारी नै यात्रु ठगी गर्ने कार्यमा संलग्न भएको पाएको बताए।
निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गर्दै आएको छ।
तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया