काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताएका छन्।
सोमबार निषेधाज्ञाको अनुगमन गर्न नागढुंगा नाकामा पुगेका प्रमुख जिल्ला अधिकारी पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकचाँजलाई पनि कडा बनाईएको बताएका हुन्। अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको उनले दाबी गरे।
नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिहरुलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको तथा निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको पनि जानकारी दिए।
उनले भने, ‘नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन गरिरहेका छौँ। हामीले विभिन्न कामको चेक गर्दै अहिले नागढुंगा नाकामा आइसकेका छौँ। अत्यावश्यक गाडी बाहेक अरु कुनैपनि चलेको अवस्था छैन। निषेधाज्ञा पूर्ण पालना भएको छ। कार्यान्वयन भएको छ। चेक जाँचलाई कडा बनाइएको अवस्था छ। यो अवधिमा हामीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना सबैको संयोजनमा प्रभावकारी रुपमा नै कार्यसम्पादन गरेको अवस्था छ। नेपाल प्रहरीले मास्क नलगाउने व्यक्तिलाई ६ लाख जरिवाना गरिसकेको छ। अहिलेसम्म ३० हजार गाडीहरु होल्डिङमा परेको अवस्था छ।’
पराजुलीले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी रुपमा कार्यसम्पादन भएको पनि बताए। प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न चेक पोइन्टहरुमा अनुगमनलाई तिव्रता दिइएको बताए।
प्रतिक्रिया