मानिसलाई कोरोना संक्रमण दोहोर्याएर पनि भइरहेको छ।
पहिलोपटक भएको संक्रमण निको भएका कतिपय मानिस दोस्रोपटक पनि संक्रमित भएको पाइएका छन्।
यसैले धेरैको मनमा प्रश्न छ– एकपल्ट कोरोना संक्रमण निको भएपछि कति समयसम्म फेरि कोरोनाले छुँदैन?
यस सम्बन्धमा बेलायतका वैज्ञानिकले अनुसन्धान गरेका छन्।
जर्नल लान्सेट हेल्दी लंगेभिटीमा मंगलबार प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार गत वर्षको अक्टोबर र यस वर्षको फेब्रुअरीसम्म इंग्ल्यान्डस्थित हेरचाह केन्द्र (केयर होम) मा रहेका २ हजारभन्दा बढी व्यक्तिमा गरिएको अध्ययनले एकपल्ट कोरोना संक्रमण निको भएपछि १० महिनासम्म यो भाइरसले आक्रमण गर्न नसक्ने देखिएको हो।
बेलायतस्थित युनिभर्सिटी कलेज लन्डन (यूसीएल) का अनुसन्धानकर्ताले एन्टिबडी जाँचबाट पहिले संक्रमण भएर निको भएको पुष्टि भएका व्यक्ति १० महिनासम्म कोरोनाबाट सुरक्षित रहेको पाइएको हो।
अध्ययन क्रममा पछिल्ला ४ महिनायता कोरोना संक्रमण भएका व्यक्तिमध्ये पहिले कोरोना भइसकेका व्यक्ति ८५ प्रतिशत कम पाइएको अनुसन्धानकर्ताले बताएका छन्।
केयर होममा काम गर्ने कर्मचारी जो पहिले संक्रमित भएका थिए, उनीहरूलाई पहिले संक्रमण नभएकाको तुलनामा ६० प्रतिशतसम्म जोखिम कम देखिएको अनुसन्धानकर्ताले बताएका छन्।
यूसीएलको स्वास्थ्य सूचना विज्ञान संस्थान अध्ययनकी मुख्य लेखिका मारिया क्रुतिकोभले भनिन्, ‘यो निकै राम्रो खबर हो– कोरोनाबाट एकपल्ट संक्रमित भइसकेपछि व्यक्तिमा देखिएको उच्च स्तरको प्रतिरक्षा क्षमता ढुक्क गराउने खालको छ, तर उमेर अलि बढी भएका व्यक्तिमा यस्तो शक्ति कम हुन सक्छ।’
यस अध्ययनमा पहिलो लहरको महामारीपछि सयवटा हेरचाह केन्द्र (केयर होम) मा रहेका ६८२ जना आश्रित र १ हजार ४२९ जना त्यहाँका कर्मचारीको एन्टिबडी गत वर्ष जुन र जुलाईमा परीक्षण गरिएको थियो। त्यस क्रममा झन्डै एकतिहाइ जनामा एन्टिबडी पाइयो, यसको अर्थ हो– उनीहरू पहिले कोरोनाबाट संक्रमित भएका थिए। यसको करिब ९० दिनपछि उनीहरूको पीसीआर परीक्षणको विश्लेषण गरियो। ९० दिनको अन्तराल राख्नुको कारण थियो– सुरुवाती संक्रमणका बिरामी नपरुन्।
अध्ययनबाट थाहा पाइयो– अक्टोबर र फेब्रुअरीबीच पुनः संक्रमित भएका व्यक्तिमा हेरचाह केन्द्रमा बस्ने व्यक्तिको संख्या निकै कम थियो। एन्टिबडी जाँचका आधारमा पहिले संक्रमित भइसकेका ६३४ व्यक्तिमध्ये जम्मा ४ बिरामी र १० कर्मचारीमा मात्र दोहोर्याएर कोरोना संक्रमण भएको पाइयो। अध्ययनमा सभागी १ हजार ४७७ जना जो पहिले संक्रमित भएका थिएनन्, तीमध्ये ९३ व्यक्ति र १११ कर्मचारीमा संक्रमण पाइयो।
प्रतिक्रिया