सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ।
ग१क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टांगिएको विद्युतको मेन तारमा जेसीबीले छोएपछि करेन्ट लाग्दा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
प्रहरीका अनुसार अन्य २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाउँपालिका ५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजाका २३ वर्षीय राम परियार रहेका छन् ।
घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका ८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया