नागार्जुन नगरपालिका वडानम्बर १० स्थित स्युचाटार खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन एक २३ वर्षीय युवती पुग्छिन। सुरक्षाकर्मीले उनलाई रोकतोक गर्दैनन। स्वास्थ्यकर्मीले सरासर खोप लगाइदिन्छन।
तर तीनै सुरक्षाकर्मीले अरु खोप लगाउन पुगेका नागरिकलाई भने उमेर सोध्छन। नियालेर नागरिकता हेर्छन।
बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको यो दृश्यपछि उक्त केन्द्रमा सरकारले तोकेको मापदण्डभन्दा पहुँचवालालाई खोप लगाउने काम भएको भन्दै आलोचना भइरहेको छ।
सरकारले चीनबाट उपहारस्वरुप पाएको १० लाख डोज भेरोसेल खोप जेठ २५ गतेबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउने मापदण्ड बनाएको थियो। तर वृद्ध उमेरकाले पाउनुपर्ने खोप पहुँचका आधारमा मापदण्डविपरितका व्यक्तिलाई पनि लगाइँदै आएको छ।
उक्त वडाका अध्यक्ष सुन्दर केसी आफूहरुले ६० देखि ६४ वर्षसम्मकालाई नछुटाएको र बढी भएको खोप कम उमेरकाले पनि लगाएको हुनसक्ने बताउँछन।
‘बढी भएको खोप स्वास्थ्यकर्मी, सरसफाईकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिएका र केही कम उमेरले पनि लगाएका होलान,’ केसीले भने, ‘खोप लगाउन पाएपछि जीवन बच्ला भन्ने आशा सबैमा छ। हामीले बचेको खोप जनतालाई नै लगाइदिएका हौं।’
पहुँचवाला व्यक्तिहरुलाई खोप लगाइन थालेपछि काठमाडौंमा लक्षित समूहले खोप नै नपाएर रित्तै फर्कनुपरेको छ। खोप अभाव भएपछि काठमाडौंमा शुक्रबार र शनिबारको खोप अभियान नै स्थगित गरिएको छ।
काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवर केही हदसम्म पहुँचवाला तथा लक्षित समूहबाहेकले पनि खोप लगाएको स्वीकार्छन।
‘केही मान्छेले ६० भन्दा दायाबायाँ लगायो भन्ने जानकारी पनि आएको छ। केही हदसम्म हो कि भन्ने पनि छ। कति हो भन्ने एकिन नै भन्नसक्ने अवस्था छैन,’ कुँवर भन्छन्, ‘खोपले बचिन्छ भन्ने चेतना भएर अरु पनि लगाउन गए होलान। खोपको मात्रा हेरेर लक्षित समूहलाई अहिले दिइनुपथ्र्यो। अरुलाई दिँदा व्यवस्थापनमा कमजोरी भएको छ।’
उनले स्वास्थ्य कार्याललाई ४० देखि ४५ हजार खोप आवश्यक पर्ने जनाए पनि ३३ हजारमात्रै दिएकाले पनि खोप अभाव देखिएको बताए।
‘हामीले ४०–४५ हजार खोप आवश्यक पर्ने बताएका थियौं। तर ३३ हजारमात्रै खोप दिइयो। २८ हजार लगाइसकिएको छ,’ उनले भने, ‘हामीले थप खोपका लागि प्रमुख जिल्लाअधिकारी, स्वास्थ्य कार्यालयका पदाधिकारीसँग छलफल गरेका छौं। आगामी हप्ता छुटपुटका लागि लगाउने कार्यक्रम छ।’
गत जेठ दोस्रो साता विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सचिवालयले विराटनगरका उद्योगी–व्यवसायीका साथै एमालेका नेता–कार्यकर्तालाई मात्र छानीछानी मापदण्डविपरित सिनेमा हलमा खोप लगाएका थिए।
त्यहाँ धमाधम नेता–कार्यकर्ता र उद्योगी–व्यवसायीलाई मात्र खोप लगाइएको देखेपछि स्थानीयले नाराबाजी गर्दै त्यसको विरोध गरेका थिए। सामाजिक विकासमन्त्री उषाकला राईको स्वकीय सचिवालयले सिटी सिनेमा हलमा खोप लगाएको विषयमा सम्बन्धित कार्यालय र कर्मचारीलाई सोधपुछ गरी छानविन सुरु गरिएको जनाए पनि त्यसमा कुनै कारवाही गरिएको छैन।
हेटौंडामा केही नेताले पहुँचका आधारमा निजी मेडिकलबाट खोप लगाएको सार्वजनिक भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका लागि आएको कोरोना विरुद्धको कोभिसिल्ड खोप केही नेताले दुरुपयोग गरेको पाइएको हो। उक्त खोप कोरोना संक्रमितको उपचारमा खटिएका अस्पतालका स्वास्थ्यकर्मी र अटो एम्बुलेन्स चालकका लागि भनेर खोप आएको थियो।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले खोप दुरुपयोग भएको बिषयमा छिटोभन्दा छिटो अनुसन्धान गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई लिखित रुपमा निर्देशन समेत दिइसकेका छन्। उनले जिम्मेवार निकाय स्वास्थ्य कार्यालय भएकाले खोप दुरुपयोगको बारेमा अनुसन्धान गरेर सीडीओ कार्यालयलाई बुझाउन निर्देशन दिएका छन्।
बुटवलमा खोप केन्द्रबाटै खोप गायब भएको छ। रोहिणी गाउँपालिकामा कोभिड–१९ विरुद्धको १६ भाइल खोप हराएको थियो। खोप गायब पारिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले खोपको खोजीमा प्रहरी नै परिचालित गरेको छ।
स्वास्थ्यकर्मी, स्थानीय नेताहरु नै खोप लुकाउने कार्यमा संलग्न भएकाले जिल्लामा समस्या देखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए।
‘केही व्यक्तिहरुले खोप लुकाउने, मापदण्डविपरित खोप लगाउने गरेको घटना सार्वजकि भएका छन्,’ तामाङले भने, ‘लक्षित समूहभन्दा बाहिर गएर खोप दिएका स्वास्थ्यकर्मी वा जनप्रतिनिधिलाई कारबाही गरिनेछ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने खोप दुरुपयोग भएको समाचार आएको भन्दै यसलाई गम्भीरतापूर्वक लिएको बताए।
‘काठमाडौंमा खोप लगाउने क्रममा दुरुपयोग भएका समाचार सार्वजनिक भएका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको छ। खोप शाखाले विस्तृत विवरण देला अनि प्रमाण भएमा हामी कारबाही गर्छौं।’
पहुँचवालालगायत विभिन्न पक्षले आर्थिक प्रभावमा पारेर समेत खोप लगाएका विभिन्न स्थानका प्रसंगहरु सार्वजनिक भइरहेका छन्।
‘यसबारे मन्त्रालयले यथार्थ बुझ्ने काम गरिरहेको छ,’ उनले थपे।
प्रतिक्रिया