ad ad

समाज


काठमाडौंमा छुटेकालाई यसै हप्ता सीमित केन्द्रबाट खोप लगाइने

काठमाडौंमा छुटेकालाई यसै हप्ता सीमित केन्द्रबाट खोप लगाइने

नेपालखबर
जेठ २९, २०७८ शनिबार ८:३०,

काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप कार्यक्रम यसैसाता सीमित केन्द्रबाट सुरु हुने भएको छ।

काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले मिति तय नभएपनि यसैसाताबाट बाँकी रहेका लक्षित समूहलाई खोप लगाउने तयारी गरिएको बताए।

‘यो उमेर समूहका लागि यसैहप्ता खोप खोप लगाउने कुराकानी भएको छ,’ कुँवरले भने, ‘अहिले ३२ स्थानबाट खोप दिइएको थियो भने अब त्यस्तो हुँदैन। केही स्थानबाटमात्रै खोप दिइन्छ।’

सरकारले चीनबाट उपहारस्वरुप पाएको १० लाख डोज भेरोसेल खोप जेठ २५ गतेदेखि ६० देखिसम्मका नागरिकलाई लगाउने मापदण्ड बनाएको थियो। महानगरले ६४ वर्षलाई जेठ २५ गते, ६३ वर्षलाई २६, ६२ वर्षलाई २७ गते, ६१ वर्षका लागि २८ गते र ६० वर्षका लागि २९ गते लगाउने कार्यक्रम तय गरेको थियो।

सुरुका तीन दिन महानगरले ३२ वटै वडाबाट ६२ वर्षसम्मका नागरिकलाई खोप लगायो। तर ६० र ६१ वर्षका नागरिकलाई खोप लगाउने बेला भने महानगरले खोप अभाव देखाउँदै स्थगित गरेको छ। यस उमेर समूहका नागरिकालाई शुक्रबार र शनिबार खोप लगाउने कार्यक्रम थियो।

‘खोप प्रशस्त भएन। भनेजति खोप स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउन नसकेका कारणले खोप व्यवस्थापन भइसके पछिमात्रै फेरि खोपका लागि अर्को सुचना निकाल्छौं,’ कुँवरले थपे, ‘हामीलाई ४५ हजार आवश्यक पर्ने भएपनि ३३ हजारमात्रै उपलब्ध भएपछि समस्या भएको हो।’

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको ३३ हजारमध्ये ६० र ६१ वर्षका नागरिकलाई छाडेर अरुलाई २८ हजार खोप प्रयोग भइसकेको छ। ५ हजारको हाराहारीमा खोप रहेको र त्यो नपुग्ने भएपछि खोप कार्यक्रम रोक्नुपरेको उनले बताए।

‘हाम्रोमा दिनमा १०–११ हजार मानिसले खोप लगाउँछन। बचेको ५ हजार खोपले फेरि सुरु गर्दा लाइन लागेका आधाले पाउने, आधाले नपाउँने अवस्था रहन्छ,’ कुँवरले भने, ‘अब बाँकीलाई पुग्ने गरी व्यवस्थापन गरौं भनेर प्रमुख जिल्ला अधिकारीसँग पनि शुक्रबार छलफल भएको छ। एक दुई दिनमा सूचना निकाल्छौं।’

काठमाडौंका केही स्थानमा लक्षित उमेर समूहबाहेक पहुँचको आधारमा पनि खोप लगाइएको सार्वजनिक भएको छ। कुँवर त्यसलाई स्वीकार्दै व्यवस्थापनमा कमजोरी देखिएको बताउँछन्।

‘केही मान्छेले ६० भन्दा दायाबायाँ लगायो भन्नेपनि आएको छ। केही हदसम्म हो कि भन्ने पनि छ। कति हो भन्ने एकिन नै भन्न सक्ने अवस्था छैन,’ कुँवर भन्छन्, ‘खोपको मात्रा हेरेर लक्षित समूहलाई अहिले दिनुपर्थ्यो। अरुलाई दिँदा व्यवस्थापनमा कमजोरी भएको छ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने खोप दुरुपयोग भएको समाचार आएको भन्दै यसलाई गम्भीरता पूर्वक लिएको बताए।

‘काठमाडौंमा खोप लगाउने क्रममा दुरुपयोग भएका समाचार सार्वजनिक भएका छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले भने, ‘मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिएको छ। खोप शाखाले विस्तृत विवरण देला अनि प्रमाण भएमा हामी कारबाही गर्छौ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .