ad ad

समाज


कोरोना संक्रमण दर वृद्धिसँगै पत्रकारका श्रम समस्या बढ्यो : महासंघ

कोरोना संक्रमण दर वृद्धिसँगै पत्रकारका श्रम समस्या बढ्यो : महासंघ

नेपालखबर
असार ६, २०७८ आइतबार १२:२३,

नेपाल पत्रकार महासंघले दोस्रो लहरको कोरोना संक्रमण दर वृद्धि भएसँगै श्रमजीवी पत्रकारका श्रम समस्या बढ्न थालेको बताएको छ।

महासंघले कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोरोना संक्रमणका कारण उत्पन्न यो कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने महासंघको ठहर छ। महासंघले यो विषम अवस्थामा श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न आग्रह गरेको छ।

साथै, संक्रमणको जोखिम मोलेर अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गरी श्रमजीवी पत्रकार ऐन र अन्य ऐनले तोकेअनुसारको सेवा–सुविधा प्रदान गर्न गराउन महासंघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ। अन्यथा महासंघ यसका लागि कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ।

श्रमजीवी पत्रकार ऐन र श्रमसम्बन्धी कानुन कार्यावन्यन गर्ने दायित्व सरकारको भएकोले ऐन कार्यान्वयनमा गम्भीर बन्न र ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सरकारी सेवा–सुविधाबाट बञ्चित गर्न तथा श्रम समस्याका विषयमा तत्काल अनुगमन गर्न महासंघले सरकारको पनि ध्यानाकर्षण गराएको छ।

महासंघले श्रमजीवी पत्रकारले भोगेका समस्याका बारेमा औपचारिक र अनौपचारिक जानकारी गराउन सम्पूर्ण श्रमजीवीमा अपिल गरेको छ। श्रम समस्याका विषयमा वार्ता र संवादको माध्यमबाट सहजीकरण गर्न महासंघ तयार रहेको प्रष्ट पारेको छ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले यही असार ७ गते (सोमबार)देखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ। सो अनुगमनपश्चात अनुगमन समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाबमूलक कार्यक्रम र कानुनी संघर्षमा जाने महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .