चरम दुःख भोगिरहेका चनौटेबासीलाई ‘परम सुख’ लेखिएको चामलका बोरा बाँडिदै थियो। बोरामाथि रारा तयारी चाउचाउका काटन थाप्लोमा हालेर उनीहरु बजारतिरै फर्किंदै थिए।
ती बोरा बोक्नेका अनुहारमा प्रष्ट देखिन्थ्यो– राहत लिन लाइन लाग्नुपर्दाको पछुतो। यही बजारका कालिदास श्रेष्ठ भने राहतको लाइनमा भेटिएनन्।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटे बजार यो क्षेत्रको पुरानो व्यापारिक केन्द्र हो। मेलम्ची बजारबाट उत्तरतर्फ मेलम्ची खोलाको किनारै किनार ८ किलोमिटर पार गरेपछि पुगिन्छ चनौटे। यही बजारको सिरानमा छ कालिदासको घर।
शनिबार अपरान्ह साढे तीन बजिसकेको थियो। चनौटे बजारको पुच्छारमा रातो पुलनजिकै राहत वितरण चलिरहेको थियो। बजारका ५१ परिवार राहत लिनेको सूचीमा थिए।
असार लाग्नु अघिसम्म उनीहरुमध्ये केहीका घरमा चामलको गोदाम नै थियो। कसैलाई पनि खान खाँचो थिएन। हरेक घरमा पसल थिए।
यो बजारमा सुनदेखि नुनसम्मका पसल थिए। चामलका बोरा बोकेर बजारको बीच सडकमा घुँडासम्म आउने हिलोमा खाली खुट्टै हेलिनु पर्ने उनीहरुको अवस्था हुँदै होइन।
बाढीले बजारलाई बगर बनाइदियो। अरुको जस्तै कालिदासको पनि उठिबास लाग्यो। घरको भुइँ तला पुरिएको छ। कालिदासको घरमा डेरा बस्ने र पसल गर्नेहरु पनि धमाधम सामान सार्दैछन्। घरबेटीले नै छाड्नु परेको यो घरमा अब सायद उनीहरु पनि फर्किने छैनन्।
मेलम्ची बजारबाट यहाँसम्म पुग्ने कच्ची बाटो कहीँ भत्किएको छ, कहीँ लेदोले पुरिएर भासिन्छ। मोटरसाइकल जसोतसो लैजान सकिन्छ तर चार पांग्रे गाडी जान सक्दैन। खोला वारिपारि नै कतै भासिएका घरका छत मात्रै देखिन्छन्। कतै बाढीले कपिसकेर ढल्न ठिक्क परेका घरहरु देखिन्छन्।
बाटोको आसपास बस्तीहरु बाक्लै छन्। कतै पक्की र कतै जस्ताका घर दायाँबायाँ छन्। तर यी बलिया र सुन्दर घरबाट पनि मान्छेहरु धमाधम सामान उठाउँदै थिए। सडक छेउछाउसम्मका बस्ती खाली गर्न प्रशासनले सूचना जारी गरिसकेको छ।
त्यसपछि सबैले घर छाडेका हुन्। शनिबार यो बाटोमा कोही ग्यासका सिलिन्डर, कोही लुगाफाटो, कोही चुलो काँधमा हालेर हिँडेका भेटिन्थे।
चनौटेमा पनि सामान सार्ने चटारो देखिन्थ्यो। कालिदासको घरमा डेरा बस्नेहरु बचेकुचेका सामान सार्दै थिए। तीनतले घरको छेउमा लामो एकतले टहरो छ। त्यहाँ उनको घरमा पसल गर्नेले सामान स्टोर गर्थे। टिपर बोलाएर उनीहरु पनि सामान लैजाँदै थिए।
चनौटे बजारतिर सोझिएको खोलो साँझ पर्दै जाँदा झन् उर्लिन थाल्यो। सिरानमा रहेको ठूलो ढुंगाले गर्दा बजारको निसाना मेटिन पाएनछ। यो ढुंगालाई कालिदासले वर्षौंदेखि पूजा गर्थे। पछि बस्ती बाक्लिँदै जाँदा ढुंगाआसपास फोहोर हुन थाल्यो। त्यसपछि उनले पनि पूजा गर्न छाडे।
कालिदास त्यही ढुंगालाई देखाउँदै भन्न थाले, ‘अब यो ढुंगाले पनि केही गर्न सक्दैन। पारिको त्यो रुखमुनि थियो गहिरो खोला। यहाँबाट त पानी बगेको पनि देखिँदैनथ्यो। अहिले उता ढुंगा थुपार्यो, बाढी यहाँबाट बग्न थाल्यो।’
अहिले त भेल पनि उनको खेत बगर बनाएर घरनजिकै आइपुगेको छ। भाइहरुको अंश पनि किनेर बनाएको ११ रोपनी खेतको चिनो पनि बाँकी छैन। परिवारका सबैले चनौटे छाड्दा उनीहरुको पनि सम्पत्ति थेग्ने कालिदाससँग अब यहाँ टेक्ने जमिन छैन।
‘यो एरियाकै एक नम्बर खेत हो। यस्तो होला भन्ने सोचिएन,’ माथि बाढीतिर देखाउँदै उनी भन्न थाले।
उनलाई ६ लाख रुपैयाँमा अंश बेचेर दुइटा भाइ र बुवाआमा भने चितवन बसाइ सरेका छन्।
कालिदासलाई भने त्यतिबेला यो ठाउँ छाड्न मन लागेन। खेत किनेका उनले घर पनि बढाउँदै लगे। अब त तीन तले घर बनिसकेको थियो। बुहारी र छोरीले यही घरमा छुट्टाछुट्टै पसल गर्थे।
खेतको कुनामा टहरा बनाएर छोराले च्याउखेतीमा लगानी गरेका थिए। छोराले थालेको च्याउ खेतीले पनि आम्दानी दिन पाएन। जुन खोलामा उनका सपनाहरु साकार हुँदै थिए, त्यही खोलाले सखाप बनायो।
‘अब मेरो यो ठाउँबाट अस्तित्व मेटियो। यो घर पनि कतिदिन रहला र, यसरी खोलाले काट्दैछ’, भेलले भकभकी झार्दै गरेको ढिस्कातिर देखाउँदै उनले भने, ‘अब यहाँ बस्छु, खान्छु भन्ने मेरो उपाय रहेन।’
बाढीले सखाप पारेको एक हप्ता भइसक्यो। चितवनमा भएका आफन्तसँग कुरा हुन पाएको छैन। कालिदासले पढेका छैनन्। मोबाइल पनि चलाउँदैनन्।
उनले लगाएको कोठे सर्टका कुनै पनि टाँक टाँकघरमा थिएनन्। दर्बिलो छाती र खाली पेट प्रष्ट देखिन्थ्यो।
उनको हँसिलो बोली सुन्दा लाग्थ्यो, उनलाई फिक्री छैन। तर, त्यो खँदिलो बोलीले आवाजको पीडा दबाउन सकिरहेको थिएन।
टुसुक्क बसिरहेका उनी जुरुक्क उठेर घरतिर फर्किए अनि सुनाउन थाले, ‘पहिला पनि अरुको घरमा ज्याला गरेर खाने गरेको हो, त्यसो गर्दागर्दै घर बनाएँ। ज्याला गरेर पैसा ल्याउँदै घर थप्दै लगेँ। अहिले घर बनाइ पनि सकियो। तर बस्न नपाइने भयो।’
२०७२ सालको भुइँचालोले पनि ढाल्न नसकेको घर छिनभरमै बाढीले बिगार्ला भन्ने त्यो दिन खोलो बढ्दै जाँदा पनि उनले सोचेका थिएनन्।
गहिरो खोला एक्कासि खेतमाथि मडारिन थाल्यो। घरहरु सबै हल्लिन थाले। ठूलो र डरलाग्दो आवाज सुनिन थाल्यो। भुइँचालोले जस्तै जमिन थरथर हल्लिन थाल्यो।
घरभित्र खाना बसाएका कालिदास बाहिर निस्किए। खोलो त खेतमाथि पो पसिसकेको रहेछ। साढे सात बजेतिर ठुल्ठूला रास भेलमा बगिरहेका देखिन्थे। तर त्यो के हो भन्नेचाहिँ उनीहरुले मेलो पाएनन्।
‘एकैछिनमा घाडाङघुडुङ लिएर गयो। हामी सबै भाग्यौं। माथिमाथि गएर हेर्न थाल्यौं। हेर्दाहेर्दै खेत लग्यो, टहरो पनि लग्यो। साढे तीन बजेतिरचाहिँ सबै लगिसक्यो’, कालिदासले त्यो साँझको घटना सुनाए।
तर, रातिसम्म बजार खोलाले छोएको थिएन। भोलिपल्ट दिउँसो फेरि खोला बढ्यो र बजार पस्यो। बजारको तल्लो क्षेत्रमा बढी क्षति गर्यो। हेर्दा सग्लै देखिएका कतिपय घरहरुको जग कपिएका छन्। कुनै घरमा ठुल्ठूला भ्वाङ परेका छन्। भित्र सबै गेगर भरिएको छ।
मेलम्ची खोलाले बगाएका ४ जनाको मात्रै शव फेला परेको छ। २१ जना अझै बेपत्ता छन्। केही घाइते भए, धेरैको उठिबास लाग्यो।
बजारका सबैलाई माथि गाउँतिर सारिएको छ। कोही आफन्तको शरण परेका छन्। दिनभर भग्नावशेष भएको ठाउँमा झर्छन्, रात परेसँगै गाउँतिर उकालो लाग्छन्।
साँझ पर्न लागेको थियो। खोलो बढ्न थाल्यो। सिटी बजाउँदै आएका प्रहरी हवल्दार जेएम लामाले माथिमाथि जान निर्देशन दिन थाले। राहत बाँड्नेहरु भने पुल नजिकै पाटीमा बसेका थिए। उनीहरुलाई पनि त्यहाँ नबस्न आग्रह गरे हवल्दार लामाले।
मेलम्चीबाट इन्सपेक्टरको कमान्डमा थप प्रहरीको टोली पुग्यो। उनीहरुलाई सेनाको हेलिकोप्टरले ल्याएको रहेछ। माथि गाउँतिरबाट १० जना सैनिक पनि झरे। गाउँले भने आफ्नो थातथलो छाडेर बाटो लाग्ने तरखर गर्न थाले।
कालिदास पनि अलि माथि गाउँमा आफन्तकोमा बस्दै रहेछन्। तर त्यो घर छाडेर जान मन मानिरहेको थिएन। अन्तिममा उनले भने, ‘रातिराति खोला बढ्छ, अब भोलि आउँदा यो घर पनि नरहन सक्छ।’
भिडिओ:
Shares
प्रतिक्रिया