सिन्धुपाल्चोकको बाढी प्रभावित ईलाकामा नेपाली सेनाले उद्धार तथा स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
मेलम्ची खोलामा आएको बाढीले जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानहरुमा क्षति पुर्याएको थियो। सेनाले सो स्थानमा आफ्नो जनशक्ति तथा श्रोत साधन प्रयोग गरी मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य सञ्चालन गरेको जनाएको छ।
हेलम्बु गाउँपालिका स्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले प्रादेशिक अस्पताल हेटौंडा र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले असार १० गते मेडिकल क्याम्प सञ्चालन गरेको थियो। सो मेडिकल क्याम्पबाट महिला–२३ र पुरुष–२० गरी ४३ जना बाढी पीडित व्यक्तिहरुलाई चेकजाँच गरी औषधि वितरण गरेको थियो।
सोही दिन चनौटे बजार ईलाका स्थित रातो पुल नजिक मेलम्ची खोलाले कटान गरेको स्थानमा ग्याविन जाली भर्ने कार्य गर्नुका साथै हेलम्बु गाउँपालिका–२ किउल स्थित राहत भण्डारण स्थलमा पोल सहितको सोलार लाईट जडान गरेको छ।
यस्तै, ११ गते महाँकाल स्थित श्री महेन्द्र आधारभुत विद्यालयको प्रांगणमा बाढी पहिरोबाट पीडित व्यक्तिहरुलाई राहत सामग्री वितरण गरेको छ।
यसैगरी मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्न स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले वागमती प्रदेश सरकारको र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले किउल ईलाकामा मेडिकल क्याम्प सञ्चालन गरेको छ।
उक्त मेडिकल क्याम्पबाट महिला ४५, पुरुष २५ र बालबालिका ४ गरी ७४ जना बाढी पीडित व्यक्तिहरुलाई चेकजाँच गरी औषधि वितरण गरेको थियो।
प्रतिक्रिया