बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्र विकसित छ। हेटौंडा भन्नेबित्तिकै यही सुविधासम्पन्न सहरको चित्र धेरैको आँखामा आउँछ।
भौतिक पूर्वाधारहरू छन्। शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत सेवाको सुलभ सुविधा छ। तर यसो मात्रै होइन, राजधानीभित्रै एउटा यस्तो ठाउँ पनि छ-जहाँका मानिसहरूको दैनिक कुनै विकट सुदूर बस्तीका बासिन्दाको भन्दा फरक छैन।
उपमहानगरभित्रै विद्यार्थीहरू स्कूल पुग्नै घण्टौँ पैदल हिँड्नुपर्छ, घरधन्दाका लागि पानी खेप्न दिनभर लाग्छ। सामान्य बिरामी हुँदा पनि स्वास्थ्यचौकी छैन, छिमेकी जिल्लाको शरणमा पुग्नुपर्छ।
उपमहानगरपालिकाका १९ वटा मध्ये १६ नम्बर वडामा पर्ने आकाशधारा भन्ने ठाउँका स्थानीयहरू दैनिक यी सब समस्या भोग्न बाध्य छन्।
आकाशधाराकी ८० वर्षीया भिममाया घलान बर्षौंदेखि आफूले खानेपानीको समस्या भोग्न परेको गुनासो गर्छिन्। ‘बर्खा लागे आकाशको पानीको भर हो। हिउँदमा खोलाको पानी ल्याउने गरेका छन्, बुहारी र नातिनातिनाले ओसार्छन्,' उनले गुनासो गरिन्, 'आफू त हिँड्न पनि सक्दिनँ। उपमहानगर भनेर के गर्नु! केही सुविधा पाएका छैनौं।’
सोही गाउँकी ४४ वर्षीया कमलामाया स्याङ्तानको श्रीमानको घर बारा हो। ७५ वर्षीया आमा एक्लै भएका कारण उनी माइतमै बस्छिन्, स्याहारका लागि। उनी नहुने हो भने आमालाई एक बूँद पानी पिलाइदिन कोही छैन, बुढ्यौलीको उकालो चढ्दै जाँदा आमा पानी खेपेर खान सक्ने अवस्था छैनन्।
आमालाई पानी खुवाउन कमलामाया माइतीमै बस्दै आएकी छिन्। ‘के गर्नु आमा पानी बोकेर खान सक्नुहुन्न,’ उनले भनिन्, ‘पानी पाउने खोल्सा तल छ । झण्डै १ घण्टा लाग्छ जान। फर्कँदा उकालोमा हिँड्न सकिदैन, डेढ घण्टा बढी नै लाग्छ।’
आमा बारा जान नमानेको कारण आफू यतै बसेको बताउँदै उनले भनिन्, ‘हाम्लाई त पानी खेप्नै सकस छ, आमाको पीरले नै म यहीँ बस्छु।’
कमलामायाको दिनभरको काम पानी ओसार्दैमा बित्छ। दिनमा उनले ५ देखि ७ खेपसम्म पानी ओर्साछिन्। गोठभरिका गाईवस्तु र घरका ५ जना परिवारलाई पानी पुर्याउने जिम्मा उनकै छ।
सधैं पानी बोक्दैमा घर छोड्न नि पाइँदैन। खेतीपाती गर्ने दिन वा चाडबाडका बेला त रातिदेखि नै पानी बोक्न थाल्नुपर्ने उनी बताउँछिन्।
झण्डै १ सय ५० घरधुरी रहेको यहाँका स्थानीयहरू खानेपानीको अभावमा छट्पटिएको पनि वर्षौं भइसक्यो। यतिका वर्ष धेरै सरकारहरू आए। हरेक चुनावमा यही नारा लिएर नेताहरू भोट माग्न पनि आए। तर पानी आएन।
न त बिरामी हुँदा स्वास्थ्यचौकीकै व्यवस्था छ यो गाउँमा।
हेटौंडा बजारबाट ३५ किलोमिटरको मात्रै दूरीमा रहेको यहाँका स्थानीयहरू सामान्य बिरामी हुँदा सिटामोलसम्म खान पाउँदैनन्। बिरामी परे हेटौंडा आउन पर्ने बाध्यता छन्। बर्खाको समयमा त हेटौंडा आउन पनि सक्ने अवस्था छैन।
स्थानीय बुद्धिमाया घलान गाउँका धेरै गर्भवतीहरूले जाँच सम्म गर्न नपाउने बताउँछिन्। ‘गाउँमा पढेलेखेका धेरै छैनन्। कोही हटियासम्म पुगेर जचाउँछन्। कोहीले यत्तिकै जन्माउँछन्। गाउँमा स्वास्थ्य चौकी छैन,’ उनले भनिन्, ‘बिरामी परे बोकेर बारा लानुपर्छ कि हेटौंडा । महिनाको एकपटक खोप लगाउन आउँछन् । अरु दिन स्वास्थ्य संस्था र डाक्टर देख्न पाइँदैन।’
गाउँमा भर्खरै बिजुली भने पुगेको छ। नत्र एक वर्षअघि सम्म त टुकीकै सहारामा उज्यालिन्थ्यो यो गाउँ। बिजुली आएपछि केही राहत भए पनि अन्य सेवासुविधा नहुँदा दिनमा पनि रातमा पनि अँध्यारै भएको बताउँछन् स्थानीय राम घलान।
यहाँ सडकको समस्याका कारण पनि समस्या उस्तै छ। हिउँदमा चुरे क्षेत्रको खोलाखोलै सडक पुगेपनि बर्खा लागेपछि हिँडेर आवतजावत गर्न पनि मुस्किल हुन्छ।
तर, सडक र विकास निर्माणका लागि हरसम्भव प्रयास गरिरहेको बताउँछन् वडाअध्यक्ष रामकृष्ण कोइराला।
हाल आकाशधारासम्म पुग्नको लागि समस्या हुने गरेको १६ सय मिटर सडकमा स्ल्याब ढलान भइहेको उनले बताए। यो सडकको स्तोरोन्नोति हुँदा आकाशधाराको स्थानीयले कष्ट व्यहोर्नु नपर्ने उनी बताउँछन्।
‘हामीले अघिल्लो वर्ष निकै दु:ख गरेर बिजुली ल्यायौं। यो वर्ष स्ल्याब ढलान भइरहेको छ,' उनले भने, 'अब पानी र स्वास्थ्य चौकी मुख्य समस्या हो। यसका लागि पनि बजेट छुट्याएर काम अघि बढाउन लागिपरेका छौं।’
पानी र स्वास्थ्यचौकीका क्षेत्रमा बजेटका लागि प्रदेश र केन्द्र सरकारसँग ताकेता गरिरहेको पनि उनले बताए।
Shares
प्रतिक्रिया