चार दिनअघि घाँस काट्न जाँदा खहरे खोलाले बगाएर बेपत्ता भएका सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ राँगेचुरीका आमाछोराको शव फेला परेको छ।
स्थानीय खँड्कुले खोलाले बगाएर बेपत्ता भएका हरिहरपुरगढी गाउँपालिका- ६ का २८ वर्षीय राजकुमार गोले र उनकी आमा ५७ वर्षीय मायाकुमारी गोलेको शव घटनाको चार दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
छोराको शव क्यानखोला र आमाको शव रौतहटको गरुढा नगरपालिकास्थित बागमती नदी किनारमा शनिबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवाले जानकारी दिए।
‘घाँसको भारी लिएर घर फर्कंदै गर्दा उहाँहरुलाई स्थानीय खड्कुले खोलाले बगाएको थियो,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘छोराको शव सिन्धुलीमै र आमाको शव रौतहटमा फेला परेको छ।’
खँड्कुले खोला सिन्धुलीको क्यानखोला हुँदै बागमती नदीमा मिसिन्छ। मायाकुमारीको शव घटनास्थलबाट करिब ४० किमी टाढा फेला परेको हो।
आमा छोरा स्थानीय ब्रह्मठाकुर सामुदायिक वनमा घाँस काटेर घर फर्किंदा खोलाले बगाएर बेपत्ता बनाएको थियो। खोला तर्ने क्रममा मामा छोरालाई नै खोलाले बगाएको भनेर स्थानीयले जानकारी गराएपछि प्रहरीले खोजी सुरु गरेको थियो।
रौटहट पुगेर आफन्तले मायाकुमारीको शवको सनाखत गरेका एसपी सिलवालले जानकारी दिए।
Shares
प्रतिक्रिया