ad ad

समाज


मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

मकवानपुरका वन अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०८० मंगलबार ११:५४, हेटौँडा

डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगले उनीमाथि एक करोड एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अभियोग लगाएको छ। 

कोइरालाले नियुक्ति लिएको २०४६ सालदेखि २०७८ सालसम्ममा वैधानिक ढंगले ८१ लाख ८६ हजार रुपैयाँ मात्रै आर्जन गर्ने देखिएको तर दुई करोड ७ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ (ग), दफा ३ र दफा २९ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० (२) अनुसार विगो बमोजिम जरिवाना र कैद सजाय हुनु पर्ने, उनले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिसमेतबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम बिगो जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

साथै कोइराला सार्वजनिक सेवाको पदमा रहेर भ्रष्टाचारजन्य कार्य गरेर गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता पौडेल कोइराला समेतको नाममा जग्गा खरिद गरेको देखिएको आयोगले जानकारी दिएको छ। 

आयोगले श्रीमती पौडेलको नाममा दर्ता कायम रहेको जग्गाको धर निर्माण तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएको खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत बराबरको भागको स्रोत नखुलेको सम्पत्तिबाट बिगो जरिमाना जफत गर्न पनि माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .