चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य चार जना यात्रु घाइते भएका छन्। मृतक भारतीय नागरिक हुन्। घाइते चार जनामध्ये दुई नेपाली र दुई भारतीय नागरिक भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले जानकारी दिए।
‘टायर पञ्चर भएर रोकिरहेको ट्रकमा गएराति बस ठोक्किँदा दुर्घटना भएको हो,’ एसपी रिमालले नेपालखबरसँग भने।
दुर्घटनामा ज्यान गुमाउनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेका प्रहरीले जनाएको छ।
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८५२४ नम्बरको बस आज बिहान पौने ३ बजे सडक किनारमा रोकिराखेको ना६ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको हो।
दुर्घटनामा ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षीय हाकिम मिया गम्भीर घाइते भएका चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिए।
त्यसैगरी सर्लाहीको बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बर नाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता पनि घाइते भएका छन्।
घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बस चालक नवलपरासी (सुस्तापूर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी भण्डारीले बताए।
Shares
प्रतिक्रिया