काभ्रेमा जंगलमा लागेको डढेलो नजिकैको घर गोठमा सल्किँदा २३ वटा खसी बाख्रा मरेका छन्। दुईवटा घर र गोठ पनि आगोले नष्ट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
सोमबार साँझ रोशी गाउँपालिका- ४ डाँडागाउँस्थित पिप्सेगैरा सामुदायिक वनमा लागेको डढेलो स्थानीय कुलबहादुर इस्माली मगरको घर र गोठमा सल्किएको हो।
आगलागीबाट मगरको ढुंगा माटो र जस्ताले छाएको २ तले कच्चि घर र सँगै रहेको बाख्रा बाध्ने गोठमासमेत नष्ट भएको छ।
आगलागीबाट खोरमा बाँधिएका २३ वटा खसी, बाख्रा र एउटा बंगुरसमेत जलेर मरेको प्रहरीले जनाएको छ।
घरमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, २ तोला बाराबर सुनको गहना र बाक्सामा राखिएको नगद ५५ हजार समेत आगगालीले नष्ट भएको मगरले बताए।
आगलागीबाट मगर परिवारको लाखौँको क्षति भएको अनुमान छ। भएभरको सबै सम्पत्ति आगलागीबाट खरानी भएपछि मगर परिवारको बिचल्ली भएको छ।
Shares
प्रतिक्रिया