अनलाइनमार्फत् १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दार्चुलाका एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका- ६ घर भई हाल काठमाडौँ महानगरपालिका- ३१ शान्तिनगरमा डेरा गरेर बस्ने भुवनसिंह धामी छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेले केही दिनअघि उनलाई पक्राउ गरेको हो।
धामीले डोल्पाको ताङसो गाँउपालिका- ६ घर भई हाल काभ्रेको नमोबुद्द नगरपालिका- १ मा रहेको नमोबुद्ध गुम्बामा अध्ययन गरी बस्ने १७ वर्षीय कार्मा तेन्जेन गुरूङबाट १९ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
धामीले ती किशोरसँग सामाजिक सञ्जालमार्फत् सम्बन्ध स्थापित गरी पटकपटक गरेर खल्ती एपमार्फत् १९ लाख रुपैयाँ गठी गरेको पाइएको प्रहरीले जनाएको छ।
उनले किशोरलाई सामसुङ मोबाईल र अन्य विभिन्न किसीमका सामानहरू सस्तोमा पठाइदिन्छु भन्दै १९ लाख रुपैयाँ असुल गरेका प्रहरी अनुसन्धानबाट देखिएको छ।
पीडित पक्षको जाहेरीको आधारमा धामीलाई पक्राउ गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया