काभ्रेको महाभारत र पाँचखालमा आगलागी हुँदा ५२ लाख रुपैयाँ भन्दा धेरैको क्षति भएको छ।
बिहीबार साँझ महाभारत गाउँपाकिला ४ गोठडाँडास्थित अकरपाखा झिगाने सामुदायिक वनमा लगेको डढेलो गाउँमा फैलिँदा स्थानीयका चार घर जलेका छन्।
स्थानीय राना टोलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
आगलागीबाट स्थानीय सन्त बहादुर राना मगरको ढुंगामाटोले बनेको जस्ताले छाएको घर जलेको छ।
घरसँगै सम्पूर्ण अन्न, लत्ताकपडा, भाडाबर्तन, फर्निचर र बस्तुभाउसमेत जल्दा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घरसँगै जोडिएको ढुंगामाटोले बनेको जस्ताले छाएको गोठमासमेत आगो लाग्दा एउटा भैँसी, सातवटा खसीबाख्रा पनि मरेका छन्।
त्यसैगरी सोही ठाउँका सुरेश राना मगरको घरमा आगो लाग्दा सम्पूर्ण अन्नपात लत्ताकपडा, भाडाबर्तन र फर्निचर जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
सुरेशको पनि घरसँगै जोडिएको गोठमासमेत आगलागी भएको छ। आगलागीमा परेर ३ वटा खसीबाख्रा मरेका छन्।
आगलागीले सोही ठाउँका चन्द्र बहादुर तुम्सिङको घर पनि जलेको छ। आगलागीबाट उनको १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागी प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन्।
त्यसैगरी काभ्रेकै पाँचखाल नगरपालिका ५ पिपलडाँडास्थित रातोमाटे सामुदायिक जंगलबाट सल्केको डडेलोले स्थानीय प्रतिभा आधारभुत विद्यालय भवन जलेको छ।
आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका फर्निचर, कम्प्युटर १ थानसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट विद्यालयको करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यसैगरी सोही आगलागीबाट स्थानीय बुद्धिबहादुर तामाङको कटेजमा समेत आगो सल्किँदा अन्दाजी दुई लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ।
प्रहरी, स्थानियवासी, नेपाली सेना र शसस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ।
Shares
प्रतिक्रिया