चार दिनअघि काभ्रेमा एक युवकको ज्यान जाने गरी भएको एउटा दुर्घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जिप चालकलाई पक्राउ गरेको छ।
गएको असार ३० गते पनौती नगरपालिका- ५ पुन्यमाता खोलामा बनेपाबाट पनौती तर्फ जादैँ गरेको प्रदेश ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइकल चालक मृत फेला परेका थिए।
सडकबाट झण्डै ६ मिटर तल खोल्सामा मोटरसाइकल खस्दा नमोबुद्ध नगरपालिका- १ बस्ने २४ वर्षीय दिपेन्द्र खड्काको मृत्यु भएको अवस्थामा शव फेला परेको थियो।
खड्का मृत फेला परेपनि त्यतिबेला प्रहरीले उक्त घटनामा संलग्न अर्को सवारी साधन फेला पार्न सकेको थिएन।
अनुसन्धानको क्रममा पनौतिबाट बनेपातर्फ आउदै गरेको बा ७ च ८६२१ नम्बरको जिपले ठक्कर दिँदा खड्काको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीले बुधबार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- १ घर भएका २६ वर्षीय भेषराज चौलागाईँलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। चौलागाईँले चलाएको जिपको ठक्करबाट खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया