राजस्व अनुसन्धान विभागले करिब सय किलो तस्करीको सुनका मुख्य ठेकेदार राकेश अदुकिया नै भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
रेडी ट्रेड प्रालिका नाममा ब्रेक सुमा राखेर हङकङबाट काठमाडौँ ल्याइएको सुन सिनामंगल पुर्याइसकेको अवस्थामा राजस्वको टोलीले साउन २ गते बरामद गरेको थियो।
सुन बरामद गरेदेखि नै व्यापारीहरु अदुकिया, दीपक मलहोत्रा र सञ्जय बबैया राजस्वको अनुसन्धान रेडारमा तानिएका थिए।
तीनै जनामाथि समानान्तर अनुसन्धान गरिरहेको राजस्वको टोली १७ दिनपछि साउन २ मा बरामद भएको सय किलो सुनका सुनका मुख्य ठेकेदार अदुकिया भएको निचोडमा पुगेको हो। तर यो सुन राकेशले कहाँ कहाँ पुर्याउँथे भन्ने खुलिसकेको छैन।
यद्यपि अब यस सुन प्रकरणको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएकोले नयाँ तथ्य भेटिने सम्भावना पनि छ।
‘यो सुन राकेश अदुकियाकै भन्ने हाम्रो अनुसन्धानको प्रारम्भिक निष्कर्ष छ,’ अनुसन्धानमा खटिएका एक अधिकृतले नेपालखबरसँग भने, ‘केही तथ्यले हामी सुनको मुख्य मालिक उनै हुन् भन्नेमा पुगेका हौँ।’
नेपालमा सुन बरामद भएकै दिनदेखि अदुकिया सम्पर्कविहीन छन्। उनी २५ वर्षअघिदेखि सुन ल्याउने कार्यमा संलग्न रहेको आरोप छ।
‘सय किलो सुनका मालिक खोज्दै जाँदा हामीले अदुकियाका केही शंकास्पद गतिविधि नियालेर यो सुन उनकै हो भन्ने निचोडमा पुग्यौँ,’ ती अधिकृतले थपे, ‘जे तथ्य भेटाएको छौँ, सोही कुरा उल्लेख गरेर अब केही दिनमा रिपोर्ट बुझाउँछौँ।’
अदुकियाले भने नेपालखबरसँग कुरा गर्दै सुन आफ्नो नभएको दाबी गरेका छन्। मुख्य तस्कर जोगाउन र विषयलाई मोड्न आफ्नो नाम मुछिएको उनको भनाइ छ।
सुन तस्करी प्रकरणलाई संगठित अपराध अन्तर्गत अनुसन्धान गर्न सीआईबीले अनुमति पाएसँगै अनुसन्धान नयाँ रुपबाट अघि बढ्नेछ।
यदि सीआईबीले पनि प्रमाण फेला पारे अदुकियामाथि संगठित अपराध र राजस्व छलीको मुद्दा चल्नेछ।
अदुकियाले भारतीय राहदानी प्रयोग गरेर हङकङ र यूएई यात्रा गर्ने गरेको देखिएको छ। पछिल्लो नौ महिनामा उनले १४ पटक नेपाल–हङकङ ओहोरदोहोर गरेका छन्।
२०७९ असोजदेखि २०८० असारसम्ममा अदुकिया त्रिभुवन विमानस्थलबाट १४ पटक हङकङ पुगेको विमानस्थल अध्यागमनको रेकर्डमा देखिन्छ।
नेपाली नै भए पनि अदुकियाले हङकङस्थित भारतीय नियोगबाट २०१० जुलाई ३ मा राहदानी लिएको देखिन्छ। २०१८ जुलाई १० मा उनको राहदानी नवीकरण भएको छ।
नेपाली नागरिकता राखेर व्यापार–व्यवसाय गरिरहेका अदुकियाले कसरी भारतीय राहदानी लिए भन्ने खुलेको छैन।
असार २० मा हङकङबाट दुबई हुँदै अदुकिया नेपाल आएका थिए। त्यसको ९ दिनपछि करिब १ क्विन्टल सुन हङकङबाट भित्रिएपछि राजस्वले बरामद गरेको थियो।
सुन बरामद गरेपछि मालिक खोज्न राजस्वले १९ जनालाई नियन्त्रणमा लिएर बयान लिइसकेको छ। उनीहरु सबैलाई ललितपुर प्रहरी र सानेपा वृत्तको हिरासतमा राखिएको छ।
दावा पक्राउ परेपछि राजस्वले पाएको ‘क्लु’
राजस्वले काठमाडौंका सोह्रखुट्टे, बालुवाटार, ठमेल र टोखामा छापा मारेर सुन बनाउन प्रयोग गरिएका विभिन्न सामग्री बरामद गरेको छ।
ठमेलको होटेल भियनामा बसेर दावा छिरिङले सुन तस्करी गरेको पाइएपछि राजस्वले साउन १३ गते पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरेपछि राजस्वले सुन मालिकबारे केही क्लु भेट्टाएको हो। राजस्वले होटलका कागजात नियन्त्रणमा लिएको छ।
दावाले सुन तस्करसँग मिलेर काम गर्नकै लागि होटल भियना प्रयोग गरिरहेको तथ्य फेला पारेर राजस्वको टोलीले निगरानी बढाएको थियो। त्यसअघि करिब सय किलो सुनमा कनेक्सन देखिएपछि साउन ४ मा चिनियाँ नागरिक जिक्वाङ लिन पक्राउ परेका थिए।
तस्करले नेपाल भित्र्याएको सुन लिनले बालुवाटारमा रहेको कारखानामा लगेर प्रशोधन गर्थे। उनको कारखाना राजस्वले सिल गरिदिएको छ।
लिन र दावाबीच पहिलेदेखि सम्पर्क भइरहेको खुलेको छ। पक्राउ पर्नुअघि ठमेलको होटल भियनामा दावा र लिनबीच भेट भएको पाइएपछि विभागले पक्राउ गरेको हो।
दावाले नै अदुकियाको सुन व्यवस्थापन गरेको हुनसक्ने राजस्व स्रोत बताउँछ। तर, थप तथ्य जुटाउने कार्य भइरहेको छ।
तिब्बती मूलका दावा बेल्जियमका नागरिक हुन्। उनीसँग नेपालको काभ्रे जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता र त्यही आधारमा राहदानी फेला परेको छ।
दावाले प्रयोग गरेका दुई वटै मोबाइल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
‘दावाले प्रयोग गरेका दुई वटै मोबाइल फरेन्सिक ल्याबमा पठाएका छौँ, त्यसबाट थप नयाँ तथ्य खुल्न सक्छ,’ ती अधिकृतले भने, ‘उनको कनेक्सन कहाँकहाँ र को कोसँग थियो खुल्नसक्छ। अहिलेसम्म बयानमा दावा कुनै कुरा खोल्न तयार छैनन्।’
‘ठमेल अपराधको अखडा रहेछ। त्यस्तो ठाउँको भियना होटेलमा बसेर उनले अवैध कारोबार गरिरहेको हुनसक्छ। त्यो होटेलमा जोकोहीले प्रवेश नै नपाउने रहेछन्,’ उनले थपे।
बबैया ग्रुपको धन्दा : सुन प्रशोधन गर्ने, बजार पठाउने
राजस्व टोलीले नेपालमा तस्करीबाट भित्रिएको सुनको व्यवस्थापन कार्यमा बबैया भन्ने ग्रुपले काम गरिरहेको तथ्य पनि फेला पारेको छ।
सय किलो सुनको मालिक खोज्दै जाँदा हङकङ हुँदै नेपाल भित्रिएका तस्करीको सुन बजारमा पठाउने काम सो ग्रुपबाट हुने गरेको पाइएको राजस्व अनुसन्धानका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।
‘तस्करले विभिन्न सामानमा राखिएको सुन निकाल्ने, स्वरुप परिवर्तन गर्ने र बजार पठाउने काम बबैया ग्रुपले गर्दाे रहेछ,’ उनले नेपालखबरसँग भने, ‘रिटेल र होलसेल दुवै त्यही ग्रुपबाट हुने गरेको पाइयो।’
उनका अनुसार सो ग्रुपले समानान्तर रुपमा सबै तस्करको सुनको व्यवस्थापन गरिदिन्छन्।
नेपालमा गएको दुई महिनायता भित्रिएको साढे ७ क्विन्टल सुन तिनै ग्रुपले नेपाली बजार र भारतीय बजार पठाएको आकलन राजस्वको छ।
सुन तस्करीमा चारपाँच वटा समूह
नेपालमा सुन तस्करी हुन थालेको धेरै वर्ष भइसकेको छ। बहुदल स्थापना यता निरन्तर सुन तस्करी भइरहेको छ। तर, पछिल्ला दिन ठूलो परिमाणमा तस्करी हुन थालेपछि यसको चर्चा हुन थालेको हो।
पछिल्ला तस्करी प्रकरणमा कम्तीमा चारपाँच वटा समूह नै लागेको राजस्व अनुसन्धान विभागले जनाएको छ।
विभागका अनुसार पालो मिलाएर वा लट मिलाएर ती तस्करले सुन ल्याउने धन्दा चलाउने गरेका छन्।
Shares
प्रतिक्रिया