ad ad

समाज


बैंक लुट्न जाँदा मारिएका सुरक्षा गार्ड ससुरा परेपछि...

मृतक ससुरा पूर्वसैनिक, आरोपित ज्वाइँ सशस्त्रका पूर्वजवान
बैंक लुट्न जाँदा मारिएका सुरक्षा गार्ड ससुरा परेपछि...

उजिर कार्की
जेठ १, २०८१ मंगलबार १३:४२, काठमाडौँ

वैशाख २७ गते हत्या गरिएका सप्तरीको फत्तेपुरस्थित नेपाल बैंकको शाखाका सुरक्षा गार्ड अभियुक्तकै आफन्त भएको खुलेको छ। तर हत्या गर्दासम्म पनि अभियुक्तले आफन्त भनी नचिनेको र पछि मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी ढुण्डीराज न्यौपानेले बताए। 

२७ गते बिहान साढे ३ बजेतिर नेपाल बैंकको फत्तेपुर शाखामा सुरक्षा गार्डका रुपमा कार्यरत सप्तकोसी नगरपालिका २ का ५५ वर्षीय पर्शुराम फुयाँलको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

हत्या आरोपमा प्रहरीले सोही नगरपालिकाका ५ का ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई चितवनबाट पक्राउ गरेको थियो। अहिले उनलाई अदालतबाट पहिलो पटक ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मृतक फुयाँल हत्या आरोपित सुवेदीका ससुरा नाता पर्ने प्रहरीले जनाएको छ। तर सुवेदीले फुयाँल आफन्त भएको हत्यापछि मात्रै थाहा पाएको बताएका छन्। अनुसन्धान तथा खानतलासीका लागि प्रहरी सुवेदीको घरमा पुग्दा सुवेदीका बुबाले प्रहरीलाई सम्धीको हत्या भएकाले उनको घरमा पुगेर फर्किएको बताएका थिए। 

मृतक फुयाँलकी छोरीसँग पक्राउ परेका सुवेदीका काकाको छोराले बिहे गरेको सप्तकोसी–५ का वडाध्यक्ष गोसाइँ चौधरीले जानकारी दिए।

मृतक फुयाँल अवकाशप्राप्त सैनिक हुन् भने हत्या आरोपित सुवेदी सशस्त्र प्रहरीका पूर्वजवान हुन्। सशस्त्र प्रहरीमा ९ वर्ष काम गरेर उनले १६ महिनापहिले राजीनामा दिएका थिए। 

मृतक फुयाँल भने नेपाली सेनाबाट अवकाश भइसकेपछि वैदेशिक रोजगारीमा गएका थिए। वैदेशिक रोजगारीबाट फर्किएपछि उनी आफ्नै ठाउँमा खुलेको नेपाल बैंकको सुरक्षा गार्डमा भर्ती भएका थिए। 

तर बैंक लुटपाटका लागि मध्यराति पसेका लुटेराले उनको हत्या गरेका थिए। 

५ दिन पहिले रेक्की, शौचालयबाट पसे बैंकभित्र
चन्द्रबहादुर सुवेदीले लुटपाट गर्ने उदेश्यले घटनाको ५ दिनपहिले नै रेक्की गरेको खुलेको छ। ५ दिनपहिले उनी श्रीमतीको एटीएम कार्ड लिएर बैंकमा रकम निकाल्न पुगेका थिए। 

त्यसदिन उनले बैंकको एटीएमबाट रकम पनि निकाले तर उनको मुख्य उदेश्य भने बैंकभित्रको अवस्था बुझ्नु रहेको प्रहरीले जनाएको छ। डीएसपी न्यौपानेले भने, ‘त्यसदिन उसले केही रकम त एटीएमबाट निकालेको देखिन्छ तर उसको मुख्य उदेश्य भने बैंकभित्र के कहाँ छ भनेर बुझ्ने देखिन्छ।’

त्यसदिन बैंकको रेक्की गरेर फर्किएपछि २७ गते राति साढे १२ बजे सुवेदी बैंकभित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिन्छ। 

उनी शौचालयको भेन्टिलेसनबाट प्रवेश गरेका थिए। सुवेदी भित्र प्रवेश गर्दा सुरक्षा गार्ड फुयाँल आफ्नो कोठामा निदाइरहेका थिए। 

बैंकभित्र प्रवेश गरिसकेपछि उनी भित्रै घुमिरहे। ३ बजेसम्म यताउता पैसा राख्ने ठाउँ खोजी गरिरहेको सीसीटीभी फुटेजमा देखिन्छ। गार्ड चट्पटाउँदा, खोक्दा भने उनी हतारहतार लुकेको देखिएको छ। 

राति ३ बजेतिर उनी भल्टको चाबी खोज्दै सुरक्षा गार्ड सुतिरहेको कोठामा पुग्छन्। चाबी त्यहीँ थियो। उनी चाबी लिन पुग्दा भने सुरक्षा गार्ड फुयाँलले थाहा पाउँछन् र चोर आयो चोर! भन्दै चिच्याउँछन्।

त्यसपछि सुवेदी र फुयाँलको लडाइँ पर्छ। गार्डको कोठाबाट उनीहरू भिड्दै काउन्टर भएको कोठामा पुगेको सीसीटीभी फुटेजमा देखिन्छ।

त्यहाँ पुगेपछि सुवेदीले आफूसँग भएको खुकुरीले गार्डलाई प्रहार गर्छन् र करिब १० मिनेटको लडाइँपछि सुरक्षा गार्डको हत्या भएको देखिन्छ। गार्डको हत्या गरिसकेपछि शव गार्डको कोठामा लैजान्छन्। 

सुरक्षा गार्डको हत्या गरिसकेपछि पनि सुवेदीले बैंकमा पैसा खोजिरहन्छन्। उनले सुरक्षा गार्डको कोठामा फेला परेको चाबीको झुप्पोबाट बैंकको भल्ट खोल्ने प्रयास गर्छन्। 

उनले भल्ट खोल्न खोज्दाखोज्दै बिहान ४ बजेर २२ मिनेट भइसकेको हुन्छ। दुई वटा चाबी फुटाइसक्दा पनि पैसा निकाल्न नसकेपछि उनी त्यसपछि भित्रबाट सबै चाबी बन्द गरेर शौचालयकै भेन्टिलेसनबाट भाग्छन्। 

हत्यापछि प्रहरी अनुसन्धानका लागि गाउँमा पुगेको थियो। तर उनी भने गाउँ छाडेर फरार भएका थिए। घटनालगत्तै सीसीटीभी फुटेजकै आधारमा प्रहरीले उनको पहिचान गरिसकेको थियो। प्रहरीले सुवेदीलाई दुई दिनपछि चितवनको राप्ती नगरपालिका १ लोथरबाट पक्राउ गरेको थियो। 

उनलाई प्रहरीले सप्तरी लगेर आइतबार सार्वजनिक गरिसकेको छ। घटनामा प्रयोग भएको खुकुरी, अभियुक्तले घटनाको समयमा बोकेको झोला, घटनाको समयमा लगाएको जुत्ता, पञ्जा, सेन्डो, टोपी, सल, घटनमा प्रयोग भएको हेक्स ब्लेड, रेन्ची, पिलास, डोरी र रड पनि प्रहरीले बरामद गरेको छ। 

सुवेदीले आफूलाई २५ लाख रुपैयाँ ऋण लागेको र ऋण तिर्नका लागि बैंक लुट्ने योजना बनाएको बताएका छन्। लुट्नकै लागि सुरक्षा गार्डको हत्या गरे पनि उनले बैंकबाट लुट्न भने सकेका थिएनन्। 

जागिर छाडिसकेपछि आफन्तले पनि आफूलाई राम्रो नमानेको गुनासो उनको छ। यही विषयमा आफन्तसँग पनि भनाभन हुने गरेको प्रहरी समक्ष बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .