डोल्पाको त्रिपुरासुन्दरीमा डढेलोमा परेर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।
त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको हो। बिहीबार दिउँसो वनमा लागेको डढेलोमा परेर स्थानीय तीनजना बालबालिका गम्भीर घाइते भएका थिए।
घाइतेमध्ये १० वर्षीय सुलस बुढाको मृत्यु भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए। जिल्ला अस्पताल डोल्पामा उपचारकै क्रममा सुलभको मृत्यु भएको हो।
गम्भीर घाइते १३ वर्षीय सुम्नत बुढा र ८वर्षीय सुलस बुढालाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
गाउँ नजिक रहेको वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बेला बालबालिका डढेलोमा परेका हुन्। उनीहरूलाई उद्धार गरेर साँझ जिल्ला अस्पताल लगिएको थियो। हरसम्भव प्रयास गर्दा पनि घाइते बालकलाई बचाउन नसकिएको डाक्टर अखण्ड उपाध्यायले बताए।
त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए।
गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो।
Shares
प्रतिक्रिया