ad ad

समाज


गमगढी-तारापानी-सोरुकोट सडक २ सातादेखि अवरुद्ध

गमगढी-तारापानी-सोरुकोट सडक २ सातादेखि अवरुद्ध

नेपालखबर
साउन ३०, २०८१ बुधबार १२:३३, मुगु

पहिरोले सडक बगाएपछि मुगुको गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ। 

सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक अवरुद्ध भएको हो। पहिरोले सडक नै बगाएको छ।

सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ। पहिरोले १० मिटर सडक बगाएको थियो। 

हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन्।

जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ। सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए। 

शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो। गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो। 

गत वर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौती गरी सडकको अवरोध हटाइएको थियो। यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए।

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ। 

गमगढी–तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .