प्रहरीले मोरङको सुन्दर हरैचाबाट लागूऔषध र पाँच लाख रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ३ की ३० वर्षीया सुनिता राई, २३ वर्षीय प्रज्वल सुदेवी, २० वर्षीय आशिष ठाकुर र सुन्दर हरैचा ५ का २४ वर्षीय संगम आचार्य रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सुनिता राईलाई ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र नगद पाँच लाख ३८ हजार २५०, डिजिटल तराजु र दुई थान मोवाइलसहित पक्राउ गरेको हो।
सुवेदी र ठाकुरलाई सडकमा हिँडिरहेको बेला फेनारग १० थान, डाइजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाइजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिलसहित प्रहरीले पक्राउ गरेको हो।
मोरङ जिल्ला अदालतबाट लागूऔषध सम्बन्धि कसूरमा चार दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया