ad ad

समाज


आफन्तले ३ साताअघि नै शव जलाए, १५ वर्षीया किशोरीको मृत्यु शंस्कास्पद देखिएपछि प्रहरीले थाल्यो अनुसन्धान

आफन्तले ३ साताअघि नै शव जलाए, १५ वर्षीया किशोरीको मृत्यु शंस्कास्पद देखिएपछि प्रहरीले थाल्यो अनुसन्धान

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:४६, काठमाडौँ

सुनसरीमा १५ वर्षीया एक किशोरीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

हरिनगर गाउँपालिका–७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मीकुमारीको मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए। 

लक्ष्मीकुमारीको शंकास्पद मृत्यु भएको १७ दिनपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो। 

किशोरीका आफन्तले प्रहरीलाई दिएको बयानअनुसार यही जेठ ४ गते लक्ष्मीकुमारीको शव झुन्डिएको अस्वथामा फेला परेको थियो। तर, उक्त घटनाको विषयमा प्रहरीलाई जानकारीसमेत नदिइ अभिभावक, स्थानीय जनप्रतिनिधि र छिमेकीले किशोरीको दाहसंस्कार गरेको पाइएको छ।  

‘जसको कारण किशोरीको हत्या भएको आशंकासहित हामीले अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ,’ एसपी रेग्मीले नेपालखबरसँग भने, ‘घटनाको विषयमा अहिलेसम्म हामीलाई कतैबाट पनि किटानी जाहेरी परेको छैन। तर, हिजोबाट हामीले घटनाको अनुसन्धान अघि बढाएका छौँ।’

अहिलेसम्म किशोरीको शंकास्पद मृत्युका सम्बन्धमा पाँच जनासँग सोधपुछ गरिएको उनले बताए। ‘हामीले अहिलेसम्म पाँच जनालाई कार्यालयमा बोलाएर सोधपुछ गरेका छौँ। अहिलेसम्म कसैलाई पक्राउ भने गरिएको छैन। हामी सुक्ष्म अनुसन्धानकै क्रममा छौँ,’ एसपी रेग्मीले भने। 

स्थानीयका अनुसार मृतक लक्ष्मीको स्थानीय सुरेश सरदारसँग प्रेम सम्बन्ध थियो। यस विषयमा दुई परिवारका बीचमा विवादसमेत भएको थियो। त्यही कारण किशोरीको हत्या भएको हुन सक्ने आशंका कतिपय स्थानीयको छ।  

‘झुण्डिर मरेको भनेर शवको त्यतिबेलै सद्गद् गरेछन्। प्रहरीलाई कुनै जानरकारी पनि दिएनन्,’ एसपी रेग्मीले भने, ‘शव भए पोष्टमार्टमपछि हत्याको कारण खुल्ने थियो। त्यो नहुँदा अनुसन्धान अलिक जटिल बनेको छ। तर, हामीले अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइसकेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .