सर्लाहीको हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहाका मिटरब्याज पीडित ओकिल मियाँले सुदखोरले खाइदिएको रकम फिर्ता पाएका छन्।
मिटरब्याज विरोधी अभियन्तासमेत रहेका सर्लाहीको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीसहितको पहलमा मियाँले साहुले खाइदिएको आफ्नो रकम फिर्ता पाएका हुन्।
उनलाई बिहीबार साहुबाट चार लाख रुपैयाँ फिर्ता गरिएको नेकपा माओवादी केन्द्र हरिपुर नगर समितिका अध्यक्ष सुनिल बुढाथोकीले जानकारी दिए।
साहले करिब सात वर्षअघि सर्लाहीकै कबिलासी नगरपालिका पिपरियाका सुदखोर नागेश्वर साहसँग डेढ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसबापत त्यतिबेलै उनले साहु साहलाई आफूले बसोबास गरिरहेको घर घडेरी रजिष्टे«सन पास गरिदिएका थिए।
तर, साहले उक्त जग्गा बेचेर खाइदिएपछि मियाँको परिवार अन्यायमा परेको थियो।
‘ऋणको साँउब्याज तिरेपछि रजिष्ट्रेसन पास गरेको जग्गा फिर्ता गर्ने सहमती विपरित साहले त्यतिबेलै जग्गा बेचेर खाइदिएपछि मियाँले न्यायको लागि हामीसँग गुहार माग्नु भएको थियो,’ सुनिल बुढाथोकीले भने, ‘हाम्रो पहलमा उहाँलाई साहुबाट क्षतिपूर्तिवापत चार लाख रुपैयाँ फिर्ता गरिएको छ।’
मियाँलाई न्याय दिलाउन स्थानीय उद्योगी बच्चा बाबुले पनि पहल गरेका मेयर बुढाथोकीले बताए।
साहु साहले मियाँबाट रजिष्ट्रेसन पास गरेर लिएको जग्गा उनकै भाइलाई बेचेको पाइएको छ। दाजुको जग्गा खरिद गरेका मियाँका भाइले पनि अब दाजुलाई घर घडेरी व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
‘मेरो घडेरीको मूल्यको क्षतिपूर्ति साहुबाट फिर्ता पाएको चार लाखले नहोला,’ मियाँले भने, ‘तर मैले मायाँ मारेको रकम ढिलै भएपनि फिर्ता पाएको छु। यसले मलाई न्याय मिलेको छ। म खुसी छु।’
Shares
प्रतिक्रिया