मोरङको बुढीगंगामा भारतीय ट्रक पल्टिँदा चारजना च्यापिएका छन्।
बुढिगंगा गाउँपालिका–४ कोयलपुर जाने बाटोमा केहीबेरअघि आर.जे.२९ जी.बी.१५६१ नम्बरको भारतीय ट्रक पल्टिँदा आफ्नो घरको आँगनमा बसिरहेका चारजना स्थानीय च्यापिएका हुन्।
च्यापिनेमा एक वयस्क पुरुष र बाँकी तीनजना बालबालिका रहेका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए। उनीहरुको पहिचान खुलेको छैन।
‘हामी अहिले घटनास्थलमै छौँ, उद्धार कार्य चलिरहेको छ,’ डीएसपी दाहालले नेपालखबरसँग भने, ‘बालबालिकाको हताहती भएको आशंका छ।’
मार्बलको सामान लिएर उद्योग तर्फ जाँदै गरेको ट्रक पल्टिँदा घटना भएको हो। मार्बलको कच्चा पदार्थ बोकेर भारतबाट बुढीगंगाको जेएनजे मार्बल उद्योगमा आउँदै गरेको ट्रक पल्टिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।
Shares
प्रतिक्रिया