धनुषाको हंसपुरकी एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। हंसपुर नगरपालिका- ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव धनुषाकै सहीदनगरमा फेला परेको हो।
‘धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टीमा रहेको माइती घर गएकी उनी हिजो (शनिबार) साँझ ७ बजेदेखि बेपत्ता भएकी आफन्तले बताएका छन्,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रन्जन अवाले नेपालखबरसँग भने, ‘आज बिहान नौ बजे गहुँ खेतमा विभत्स अवस्थामा उनको शव फेला परेको हो।’
शव फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवेनेश्वर तिवारी आफैँ घटनास्थलमा पुगेका छन्।
‘एसपी साप आफैँ अनुसन्धानमा खटिनु भएको छ। शव अहिले घटनास्थलमै छ,’ डीएसपी अवाले भने, ‘मधेश प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसहित केही बेरअघि एसपी सापको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।’
मण्डलको शरीरका विभिन्न भागमा गहिरो घाउचोट देखिएको छ। कुकुरले सुरुमा शव हेरेपछि मात्रै थप अनुसन्धान प्रक्रिया अघि बढाइने उनले बताए।
Shares
प्रतिक्रिया