ad ad

समाज


विज्ञ भन्छन्: बाहिरबाट आउनजान रोकौँ, उपत्यकामा गतिविधि सुरु गरौँ

विज्ञ भन्छन्: बाहिरबाट आउनजान रोकौँ, उपत्यकामा गतिविधि सुरु गरौँ

यज्ञराज जोशी
बैशाख २१, २०७७ आइतबार १२:२२,

सरकार वैशाख २५ पछि काठमाडौं लगायत कोरोना जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउन अग्रसर देखिन्छ। मन्त्री तथा विज्ञहरुले पनि जोखिम क्षेत्र छुट्याएर लकडाउनको प्रकृति बदल्नुपर्नेमा जोड दिँदै आएका छन्।

उपत्यकाका १६ नगरपालिका र दुई महानगरपालिका सदस्य रहेको उपत्यका नगरपालिका फोरमले पनि बाहिर आवातजावत रोक्ने तर यहाँको आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने बताएको छ।

फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आन्तरिक आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए।

‘लकडाउनको यही मोडेल जारी राखे आर्थिक क्रियाकलाप र जनताको जनजीवनमा ठूलो असर पर्ने देखियो,’ महर्जनले भने, ‘रोगको संक्रमण फैलन नदिन अझै केही समय आवतजावत रोक्नुपर्छ तर यहाँको आन्तरिक गतिविधि सञ्चालन गर्नुपर्छ।’

उनले उपत्यकाभित्रको वातावरणलाई सहजीकरण गर्न उद्योग कलकारखाना सञ्चालन गर्ने, आर्थिक गतिविधि बढाउने, मजदुरलाई रोजगारी उपलब्ध गराउने कुरामा खकुलो हुनुपर्ने सुझाव दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले लकडाउन खुकुलो भएपछि संक्रमण रोक्न सबैभन्दा बढी नागरिकको दायित्व हुने बताए।

‘संक्रमणको रोकथामका लागि नेपालसहित विश्वभर नै लकडाउन प्रभावकारी देखिएको छ। तर यसले जनजीवनमा अप्ठेरो पनि पारेको छ,’ देवकोटाले भने, ‘लकडाउन खुकुलो बनाउँदै ज्यादा हामीले गर्ने व्यवहारले पनि संक्रमण जोखिम कम गर्न महत्वपूर्ण भुमिका खेल्छ। मेलापात, बजार, अनावश्यक जमघट, आवतजावत बढी भयो भने संक्रमण फैलिन सक्छ। त्यसो हुन नदिई हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ।’

LockdownKathmandu 02

नेपालमा केही स्थानबाहेक संक्रमण पहिलो चरणमै रहेकाले यहीँ रोक्न सके महामारीको जोखिम एकदमै कम रहेको उनको दाबी छ। लकडाउन खुकुलो भएपनि अनावश्यक भिडभाड, हिँडडुल गर्न नहुने उनको सुझाव छ।

गत वैशाख २ गते भक्तपुरस्थित सनसिटी अपार्टमेन्टका तीन जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरु पनि निको भइसकेका छन्। त्यसपछि तीन हप्ता बित्दासम्म उपत्यकामा थप संक्रमित देखिएका छैनन्। त्यसैले नागरिक दायित्व सम्झाउँदै लकडाउन खुकुलो बनाउनुपर्नेमा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले जोड दिए।

‘अहिलेसम्मको लकडाउन र परीक्षणको अनुभवबाट नेपालभित्र यो रोग धेरै नसरेको देखिएकाले अब लकडाउन खुकुलो बनाउनुपर्छ,’ मरासिनीले भने, ‘लकडाउन खुकुलो भएसँगै नागरिकलाई किनमेललगायतका काममा अनिवार्य लाइन लाग्नुपर्ने तथा मास्क अनिवार्य गर्नुपर्छ।’

उनले दिउँसो खुकुलो बनाएपनि राति कर्फ्यु लगाउनुपर्ने सुझाव दिए।

‘राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाए जनतालाई पुरै लकडाउन सकिएको छैन, सतर्क हुन जरुरी छ भन्ने सन्देश पनि जान्छ र राति हुने पार्टी, हिँडडुल पनि रोकिन्छ,’ उनले भने।

जनस्वास्थ्यविद् समीरमणि दीक्षित पनि काठमाडौं लगायत संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो बनाउनुपर्ने बताउँछन्। उनले देशैभरी एकैपटक खोल्दा धेरै मानिस बाहिर निस्किने र त्यसले समस्या निम्त्याउने भएकाले योजनाबद्ध रुपमा खोल्न सुझाव दिए।

‘ज्यादै भिडभाड हुने ठाउँहरु सपिङ सेन्टर, सिनेमा हल, खेलकुद, मिटिङ, कन्फरेन्स गर्न दिन भएन,’ उनले भने, ‘कति पसल खोल्ने, कहाँ कहाँ खोल्ने भन्ने तय गरेर नियन्त्रित रुपमा लकडाउन हटाउन जरुरी छ।’

उनले कृषि, ढुवानी, कलकारखाना, उद्योग खोल्नुपर्ने तथा काममा जाने मान्छेलाई व्यवस्थित रुपमा ल्याउने लैजानेगरी यातायातका साधनहरु समेत खोल्न सुझाव दिए। साथै खुद्रा पसलहरु पनि दिनभर खोल्न दिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .