कर्णाली पुलमा सवारी साधनको आवत जावत बन्द गरिएको छ। सोमबार पुलमा गुडिरहेको ट्रकमा लागेको आगो पुलमा समेत सल्केपछि पुल भएर सवारी साधनको आवतजावत बन्द गरिएको हो।
सुदूरपश्चिमलाई देशको अन्य भूभागसँ जोड्ने कर्णाली पुलको लठ्ठा आगोले पग्लिएपछि पुल भएर गएराति देखि नै आजतजावत बन्द गरिएको स्थानीय प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनले वैकल्पिक बाटोको प्रयोग गर्न पनि अनुरोध गरेको छ।
कर्णाली पुल भएर आवतजावत बन्द गरिएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरबाट बर्दिया पुग्ने वैकल्पिक बाटो प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
कर्णाली पुल भएर चलने यातायातका साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी राजिव बस्नेतले बताए।
कर्णाली पुल बन्द भएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरको बाटो प्रयोग हुँदा सवारी साधनको चाप बढेको छ। यो सडकखण्ड कतै कच्ची त कतै कालापत्रे छ।
महेन्द्र राजमार्ग अन्तर्गत कर्णाली पुलको बाटो बन्द भएपछि यात्रुहरु करिब २० किलोमिटर दूरी घुमेर यात्रा गर्न बाध्य भएका छन्।
प्रत्यक्ष रुपमा लठ्ठा पग्लिएको देखिएपछि आवतजावत बन्द गरिएको हो। पुलको क्षति अवलोकलका लागि प्रावधिक टोली आउँदैछ। प्रावधिक परीक्षणपछि मात्रै पुल सञ्चालन गर्ने÷नगर्ने यकिन हुने एसपी बस्नेतले बताए।
सोमबार वीरगञ्जबाट महेन्द्रनगर आउँदै गरेकोे ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको थियो। त्यसैबाट आगो पुलको लट्ठामा सल्केको हो।
करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीका कारण ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ट्रक जलिसकेपछि आगो नियन्त्रणमा आएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन।
Shares
प्रतिक्रिया