काठमाडौमा सुरु यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ।
मंगलबार भएको उद्घाटन खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
प्रदेश १ ले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको बागमती प्रदेश ३१.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो।
बागमतीका विपिन शाहीले ५७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए।
विवेक मगरले ४२ रन थपे। तेस्रो विकेटका लागि विपिन र विवेकले ८६ रनको उत्कृष्ट साझेदारी गरे पनि टोलीको हार टार्न भने सकेनन्। ओपनर सुर्यान्शु कोइराला ५ र उत्तम मगर ४ रनमा पवेलियन फर्के।
प्रदेश १ का लव कामतले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए। स्पिनर दीपेश कँडेलले ३ तथा दीपक जोशीले १ विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एक ४५.३ ओभरमा १ सय ७५ रनमा अल आउट भयो।
लव कामतले ६९ बलमा ५ चौका सहित ३३ रनको योगदान दिए। दीपक जोशीले ३३, सोनु अन्सारीले ३२ तथा दीपेश कँडेलले २३ रन थपे।
बागमतीका कृश कार्की र तिलक भण्डारीले समान ३ विकेट लिए। कप्तान प्रतिश जिसीले २ विकेट लिए। गौतम केसी र विवेक मगरले १–१ विकेट लिए।
Shares
प्रतिक्रिया