देशको बागडोर सम्हालिरहेको नेपाली कांग्रेसको चौधौँ महाधिवेशन भएको ६ महिना पुगिसकेको छ। तर आफ्ना विभागलाई अझै पूर्णता दिन सकेको छैन। चौधौँ महाधिवेशनपछि नेपाली कांग्रेसका विभिन्न विभाग निष्क्रिय भएका छन्। तिनैमध्ये एक हाे- खेलकुद विभाग।
अब बन्ने खेलकुद विभागमा निवर्तमान प्रमुख मोहनबहादुर बस्नेत नै दोहोरिन इच्छुक छन्। अहिले कांग्रेस विभागविहीन भए पनि यसले चाँडै पूर्णता पाउनेमा उनी ढुक्क छन्।
खेलकुदकै पृष्ठभूमि बताउने बस्नेत आफ्नो कार्यकालमा खेलकुद विकासका लागि थुप्रै काम गरेको दाबी गर्छन्।
उनले लोकतान्त्रिक खेलकुद संघसँग मिलेर आफूहरूले विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गरेको, १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको, ओलम्पिकमा छनोट भएका खेलाडी र प्रशिक्षकलाई कोरोना बिमादेखि महामारीका बेला देशभरका ३३ भन्दा बढी जिल्लामा रक्तदान कार्यक्रम गरेको सुनाए।
देशमा रहेका विभिन्न राजनीतिक दलमा खेलकुद विभाग रहे पनि खेलाडीलाई पार्टीसँग जोड्नुभन्दा उनीहरूको क्षमता विकासमा सहयोग गर्नुपर्ने उनी बताउँछन्।
उनी भन्छन्, ‘राजनीतिक दलले खेलाडीलाई पार्टीमा आऊ भन्ने हैन, राष्ट्रका लागि राम्रा खेलाडी उत्पादन गर्न पार्टीले महत्वपूर्ण भूमिका खेल्नपर्छ। खेलकुदमा राजनीति गर्न हुँदैन, राजनीतिले खेलकुदलाई सहयोग पुर्याउनपर्छ।
खेलाडीहरू नियमित प्रशिक्षणमा रहने हुँदा उनीहरुका लागि वातावरण तयार पार्न खेलकुद विभागले काम गरिरहेको छ। जसले गर्दा प्रतियोगितामा भाग लिँदा उनीहरूको सीप अझै तिखारिन्छ।
नेपालमा खेलबाटै जीविकोपार्जन गर्न सकिन्छ भन्ने वातावरण भर्खर सुरु भएको छ। तर खेलकुदमै जिन्दगी बिताउन सकिन्छ भन्ने विश्वास देशले दिलाउन नसकेको उनले टिप्पणी गरे।
खेलेर पनि जीविका चलाउन, बाबा–आमा पाल्न, छोराछोरी पढाउन तथा औषधोपचार गर्न सकिन्छ भन्ने अवस्था भर्खर सुरु भएको छ। तर पूर्ण रूपमा यस्तो अवस्था बनिसकेको छैन।
त्यसैले राजनीतिमा लागेका र खेलाडीको मर्म बुझेका मान्छेले राजनीतिक वा सरकारी संयन्त्रलाई खेलाडी उत्पादन गरेर अन्तर्राष्ट्रिय स्तरमा झण्डा फहराउन सक्ने माध्यम बनाउन सक्छ।
‘नेपाली कांग्रेसले खेलाडीलाई हाम्रो पार्टीमा आउनपर्छ है भनेर अभियान चलाएको छैन’, बस्नेत भन्छन्, ‘तर खेलाडी बन्न चाहनेलाई खेल्ने वातावरण बनाउन वडा, पालिका, प्रदेश र देशभर प्रतियोगिता गरिरहेका छौं।’
उनले थपे, ‘कांग्रेसले कति सदस्य बनाउने भन्ने हाम्रो अभियान हैन। खेलाडी उत्पादन गर्न र बनेका खेलाडीलाई प्रोत्साहित गर्न हामीले काम गर्ने हो।’
प्रतियोगिता आयोजनाका लागि पार्टीले निश्चित बजेट विनियोजन नगरे पनि खेलकुद विभाग कांग्रेस समर्थकले गर्ने आर्थिक अनुदानबाट सञ्चालन भइरहेको उनले सुनाए।
प्रदेशदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीलाई हेर्ने हो भने कमजोर आर्थिक अवस्थाकाहरू सफल भएको देखिन्छ। सम्पन्नभन्दा न्यून आय भएका परिवारका व्यक्ति खेलकुदमा लाग्ने गरेका छन्।
‘इच्छा शक्ति भए खेलकुदमा लाग्न धनी हुनैपर्छ भन्ने छैन, भौतिक वातावरण बन्न जरुरी छ’, बस्नेतले भने, ‘कमजोर आर्थिक अवस्थाबाट आएका खेलाडी सफल भएका छन्। अहिले सुकुमवासी परिवारबाट आएका छन्। उनीहरूलाई राज्यका संयन्त्रले सहयोग गर्नपर्छ। राजनीतिमा लागेका व्यक्तिले पनि सहयाग गर्नपर्छ।’
खेलकुदले स्वस्थ नागरिक उत्पादनमा मद्दत पुग्ने उनले बताए।
‘विश्वमा नेपाल चिनाउन राजनीतिभन्दा खेलकुदबाट धेरै सहज हुन्छ। यो कुरा पुष्टि पनि भइसकेको छ’, उनले भने, ‘त्यसैले खेलकुदको विकास गर्न जरुरी छ। नेपाली कांग्रेसले वडादेखि जिल्ला हुँदै प्रदेशका जनप्रतिनिधिसँग मिलेर काम गरिरहेको छ।’
Shares
प्रतिक्रिया